श्रीलंकाका पूर्वकप्तान थाराङ्गा एभरेस्ट प्रिमियर लिग खेल्न नेपाल आउने

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको साविक विजेता ललितपुर प्याट्रिओट्सले सिजन २०२० का लागि श्रीलंकाका पूर्वकप्तान उपुल थाराङ्गालाई भित्र्याएको छ।

श्रीलंकाका लागि एकदिवसीय र टी–२० टिमको कप्तानी गरिसकेका थाराङ्गालाई आगामी मार्च १४ देखि कीर्तिपुर मैदान हुने लिगका लागि ललितपुरले सम्झौता गरेको हो।

देब्रे हाते ओपनिङ ब्याट्सम्यान थाराङ्गा विकेटकिपिङ पनि गर्छन्। ३४ वर्षीया थाराङ्गाले श्रीलंकाका लागि २१ एकदिवसीय र ६ टी–२० खेलमा कप्तानी गरेका थिए।

‘हामीले टिममा भयानक खेलाडी भित्र्याएकी छौं। उनी ओपनिङ गर्नुको अलवा किपिङ पनि गर्छन्। उनी आउदा टिम सन्तुलित बनेको छ,’ ललितपुरका टिम ओनर किशोर महर्जनले भने। थाराङ्गाले नेपाल आउन पाउँदा खुसी लागेको बताएका छन्।

‘सिजन २०२० को इपिएलमा ललितपुरको परिवारमा हुँदा खुसी लागेको छ। नेपाली क्रिकेट विकासमा योगदान दिन पाउनु खुसीको कुरा हो,’ उनले भनेका छन्,’आफ्नो ज्ञान नेपालका युवा क्रिकेटरसँग साट्न तयार छु।’

उनले नेपालको सुन्दरता हेर्नका लागि आतुर भएको पनि बताएका छन्। थाराङ्गाले श्रीलंकाका लागि २३५ एकदिवसीय, ३१ टेस्ट र २६ टी-२० खेल खेलेका छन्।

उनले एकदिवसीय खेलमा १५ शतक र टेस्टमा ३ शतक प्रहार गरेका छन्।

@Setopati

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ