शरद र सन्दिपको शतकिय साझेदारीसंगै एपिएफ मियर कपको फाइनल प्रवेश

काठमाडौ, कप्तान शरद भेषाकरले लामो समयपछि अद्र्धशतक प्रहार गर्दै सन्दिप जोरासँग शतकीय साझेदारी गरेपछि नेपाल एपिएफ क्लब मेयर कपको फाइनलमा प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा एपिएफले जित्नै पर्ने खेलमा सन्दिप लामिछाने कप्तान रहेको काठमाडौं मेयर ११ टोलीलाई ७ विकेटले पराजित गर्यो । लिग चरणको समाप्तिपछि तीन जितका साथ फाइनल प्रवेश गर्यो ।

शनिबार हुने फाइनलमा एपिएफले अर्को बिभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । एपिएफले लिग चरणमा पुलिसमाथि एक विकेटको रोमाञ्चक जित हात पार्दा दिपेन्द्र सिँह ऐरिको १ सय ४० रनको शान्दार इनिङ्गस खेल गएको थियो ।

एपिएफले टस जित्दै पहिलो फिल्डिङ्ग रोजेपछि उसले मेयर ११ लाई ४८ दशमलव २ ओभरमा १ सय ७७ रनमै रोकेको थियो । पछिल्लो ९ खेलमा चल्न नसकेका शरदले धैर्यतापुर्वक ब्याटिङ्ग गरेपछि एपिएफले ४४ दशमलव १ ओभरमा लक्ष्य प्राप्त गर्यो ।

फर्ममा रहेका ओपनर आसिफ शेखलाई पहिलो ओभरमै अनुज चुनाराले पेभिलियन फर्काएपछि शरदले निकै धैर्यतापुर्वक एपिएफलाई सम्हालेका थिए । उनले दोश्रो विकेटका लागि शंकर रानासँग ४४ रनको साझेदारी गरे । शंकरले ४९ बलमा पाँच चौकाको मद्दतमा ३१ रन बनाए ।

भुवन कार्कीलाई सन्दिप लामिछानेले ११ रनमा बोल्ड गरेपछि एपिएफले ५७ रनमा तीन विकेट गुमाएको थियो । त्यसपछि शरद र जोराले चौथो विकेटका लागि १ सय २१ रनको पार्टनरसिप गरेका थिए ।

यसअघि भएको प्रधानमन्त्री कपमा सर्वाधिक २४ रन बनाएका शरदले चाहिएकै समयमा एपिएफको लागि कप्तानी इनिङ्गस खेलेका हुन् । शरदले लेग स्पिनर सन्दिपले नो बल गरेपछि पाएको फ्रि हिटमा छक्का प्रहार गर्दै अद्र्धशतक पुरा गरेका थिए ।

जोरोले सिद्धान्त लोहनीको बलमा चौका प्रहार गर्दै बिजयी शट हानेका थिए । जोरा ७९ बलमा ९ चौकाको मद्दतमा ६२ रन बनाए । शरदको ११८ बलको सामना गर्दै पाँच चौका र एक छक्का प्रहार गर्दै ६१ रन बनाए ।

यसअघि पहिलो दुई विकेट ४४ रनमा गुमाएपछि हरि शंकर साह र सन्दिप रजालीले ६५ रनको साझेदारी गर्दै मेयर ११ लाई सम्हालेका थिए । तर सन्दिपको विकेट झरेसँगै मेयर ११ ले लगातार विकेट गुमाउन थालेको थियो ।

उसले अन्तिम ८ विकेट मात्रै ६८ रनमा गुमाउन पुग्यो । रजालीले ८३ बलमा पाँच चौकाको मद्दतमा ४८ रन बनाए भने हरि शंकरले ५७ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३६ रन बनाए । यसबाहेक बिक्रम भुषालले ३६ बलमा २० रन जोडे ।

एपिएफका लागि अविनाश बोहोरा र कमल सिँह ऐरिले समान तीन–तीन विकेट लिएका थिए । कसिलो बलिङ्ग गरेका कमलले १० ओभरमा मात्र २५ रन खर्चेका थिए ।