व्यक्तिगत ट्रफी भन्दा टिमको सफलता धेरै महत्वपूर्ण : रोनाल्डो

पाँच पटकको बेलन डि’अर बिजेता क्रिष्टियानो रोनाल्डोले व्यक्तिगत उपलब्धी आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् । बरु उनले आफू एक टिम प्लेयर भएको कुरामा समेत जोड दिएका छन् ।

गत समर युभेन्ट्समा आवद्ध भएर बर्ष २०१८ शानदार रुपमा समापन गरेका पोर्चुगिज स्टार रोनाल्डोले आफू व्यक्तिगत पुरस्कारमा त्यति इच्छुक नरहेको बताएका छन् ।

रियल मेड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जिताएपछि आफ्नो नौ बर्षे लामो बर्नबेयु बसाईलाई छोडेर रोनाल्डोले युभेन्ट्स जाने निर्णय लिएका थिए । युभेन्ट्समा आवद्ध भएयता ३३ बर्षिय रोनाल्डोले समग्रमा २४ खेलमा १५ गोल समेत गरिसकेका छन् ।

स्मरणीय छ कि यसपटक पछिल्ला एक दशकदेखि बेलन डि’अर अवार्डमाथि चल्दै आएको लियोनल मेसी र रोनाल्डोको राज तोड्दै रियल मेड्रिडका क्रोएशियन मिडफिल्डर लुका मोड्रिकले यो अवार्ड पहिलोपटक जितेका थिए । यो अवार्डको सूचीमा रोनाल्डो दोस्रो स्थानमा रहे भने मेसी अप्रत्याशित रुपमा पाँचौं स्थानमा रहे ।

उता छैठौंपटक यो प्रतिष्ठित अवार्ड जित्न असफल भएका रोनाल्डोले कुनै असहज मन भने बनाएका छैनन् । रोनाल्डोका अनुसार उनले हात पार्ने व्यक्तिगत उपलब्धीहरु उनको चिन्ताको बिषय नरहेको स्पष्ट पारेका छन् । बरु टिमलाई सफलतातिर डोराउन सके त्यस्ता उपलब्धी स्वत हात लाग्ने समेत उनको भनाई छ ।

गोल डटकमसँग कुरा गर्दै रोनाल्डोले भनेका छन्, “म केवल व्यक्तिगत उपलब्धीमा केन्द्रित छैन । मुख्य कुरा त टिमलाई सहयोग गर्नु हो । बाँकी कुरा स्वतः हात लाग्ने गर्छन् । स्वभाविक रुपमा जित हात पार्दा म खुशी हुन्छु, जुन कुरा म लुकाउन चाहन्न । यद्यपि जित हात पार्न नसके तापनि त्यसले खासै असर भने पार्दैन ।”

रोनाल्डोले २०१८ को बर्ष क्यालेण्डरमा देश र क्लबका लागि ५३ खेलमा कुल ४९ गोल गरेका छन् । साथै इटालिय सिरि ए तर्फ सर्वोधिक गोलकर्ताको सूचीमा उनी शिर्ष स्थानमा समेत छन् ।