वेस्ट ह्याम विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाइटेड र एस्टन भिल्ला विजयी हुँदा अन्य टोलीले भने बराबरी खेल्दै अंक बाँडेका छन् ।

वेस्ट ह्यामले एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले पाखा लगाएको हो ।

एर्भटनविरुद्ध घरेलु मैदानमा जित दर्ता गर्दा वेस्टह्यामका जोरोड बोइनले २ गोल गरेका थिए ।

उनले पहिलो हाफको ३४ औं र ४१ औं मिनेटमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए ।

वेस्टह्याम १८ अंकका साथ १५ औं स्थानमा रहेको छ भने एभर्टन रेलिगेशन जोनमा रहेको छ ।

यस्तै अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक थप्न सफल भयो ।

एस्टनका जितमा ओले वाट्किन्सले ७७ औं मिनेटमा गरेको गोल निर्णायक बन्न पुग्यो । एस्टोन अहिले तालिकाको ११ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यस्तै बर्नमाउथ र नटिङघम फरेस्टले १–१ गोलको बराबरी खेल्दा लेस्टर र ब्राइटनले २–२ गोलको बराबरी खेल्दै एक एक अंकमा चित्त बुझाए ।

यस्तै क्रिष्टल प्यालेस र न्युक्यासल युनाइटेडपनि गोलरहित बराबरीमा रोकिए ।