वेस्ट इन्डिजविरुद्ध भारतको क्लिन स्विप

दोस्रो टेस्टमा भारतले वेस्ट इन्डिजविरुद्ध २५७ रनको फराकिलो जित निकाल्‍दै टेस्ट शृंखला ‘क्लिन स्विप’ गरेको छ।

जमैकाको सविना पार्कमा जितका लागि ४६८ रनको लक्ष्य पछयाएको वेस्ट इन्डिज दोस्रो पारीमा २१० रनमा समेटिएपछि भारत विजयी भएको हो। इन्डिजका लागि सम्राह ब्रुक्सले ५०, कप्तान जसोन होल्डरले ३९ र जर्मेन ब्ल्याकवुडले ३८ रन बनाए पनि त्यो जितका लागि उल्लेख्य भएन।

भारतीय बलरका अघि दोस्रो पारीमा पनि वेस्ट इन्डिजका ब्याट्सम्यान निरिह देखिए। भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सामीले समान ३/३ विकेट र इशान्त शर्माले २ विकेट लिए। पहिलो पारीमा ह्याट्रिकसहित ६ विकेट लिएका जसप्रित बुमराहले एकमात्र विकेट हात पारे।

यसअघि पहिलो पारीबाट २९९ रनले अग्रता लिएको भारतले दोस्रो पारीमा १६८ रनमा पारी घोषित गर्‍यो। भारतका लागि अजिंक्य रहानेले ६४ र हनुमा बिहारीले ५३ रनको पारी खेले। बिहारीले पहिलो पारीमा करियरकै पहिलो शतक प्रहार गरेका थिए।

हनुमाले पहिलो शतक प्रहार गरेपछि भारतले पहिलो पारीमा ४१६ रनको योगफल तयार गरेको थियो। उनले १ सय ११ रनको योगदान दिएका थिए। यस्तै कप्तान विराट कोहली (७६), इशान्त शर्मा (५७) र मायांक अग्रवाल (५५)ले अर्धशतक बनाए। वेस्ट इन्डिजका जसोन होल्डरले ५ तथा राहकिम कोर्नवालले ३ विकेट हात पारेका थिए।

आफ्नो पहिलो पारीमा वेस्ट इन्डिज ११७ स्थानमा समेटिएको थियो। वेस्ट इन्डिजका ३ ब्याट्सम्यानले खाता नै खोल्न सकेका थिएनन्। सिम्रोन हेटमेरले सर्वाधिक ३४ रन बनाउँदा कप्तान जसोन होल्डरले १८ रन जोडे।

वेस्ट इन्डिजलाई दबाबमा राख्दै भारतका जसप्रित बुमराहले ह्याट्रिकसहित ६ विकेट लिएका थिए। ९.१ ओभर मात्रै बलिङ गरेका उनले ३ मेडन राख्दै मात्र १६ रन खर्चिएका थिए।

नवौं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा उनले क्रमश: ड्यारेन ब्राभो, समराह ब्रुक्स र रोस्टन चेजलाई पेवेलियन फर्काएका थिए। योसँगै टेस्ट म्याचमा ह्याट्रिक लिने उनी तेस्रो भारतीय बलर बनेका छन्। यसअघि हरभजन सिंह र इरफान पठानका नाममा यो कीर्तिमान थियो।