वेष्ट इन्डिज विरुद्धको टी-२० सिरिज भारतलाई

वेष्ट इन्डिज विरुद्वको टी-२० सिरिज भारतले जितेको छ। अमेरिकाको फ्लोरिडामा आइतबार राति सम्पन्न खेलमा वेष्ट इन्डिजलाई २२ रनले हराउँदै भारतले ३ खेलको सिरिज २-० ले अग्रता लिँदै जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको नोक्सानीमा गुमाएर १ सय ६७ रन बनाएको थियो। ओपनर रोहित शर्माले ५१ बलमा ६७ रन बनाए । रोहितले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान पनि कायम गरेका छन् ।

उनले वेष्ट इन्डिजकै क्रिस गेलको छक्काको कीर्तिमान भंग गरेका हुन्। ९६ खेलमा १ सय ७ छक्का हानेर उनले कीर्तिमान रचेका हुन् । गेलको १०५ छक्का छ।

जवाफी ब्याटिङमा उत्रिएको वेष्ट इन्डिजले १५.३ ओभरमा ४ विकेटको नोक्सानीमा ९८ रनमात्रै बनाउन सके। त्यसपछि बर्षाले खेल प्रभावित बनेपछि डकवर्थ लुइसको आधारमा भारतले खेल २२ रनले जितेको हो। रोभमन पोवेलले ५४ रन बनाएका थिए। भारतका कुर्नाल पाण्डेयाले सर्वाधिक २ विकेट लिए।

अब अन्तिम खेल मंगलवार हुनेछ।