विश्‍व र एसिया-११ शृंखला स्थगित

Al-Amin Hossain arrives for a practice session wearing a face mask AFP

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्न लागेको विश्व–११ र एसिया–११ बीचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला स्थगित गरिएको छ ।

यो शृंखलामा नेपालका सन्दीप लामिछाने एसिया–११ को टिममा परेका थिए ।

बंगलादेश क्रिकेट बोर्डले राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा आयोजना गर्ने शृंखलाको खेल मार्च २१ र २२ मा ढाकामा हुँदै थियो ।

शृंखलामा विराट कोहली, क्रिस गेल, लासिथ मालिङगालगायतका सुपरस्टार क्रिकेटर सहभागी हुँदैथिए । तर बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष नाजमुल हसनले बुधबार अर्को जानकारी नभएसम्मका लागि शृंखला स्थगित गरिएको घोषणा गरेका छन् ।

बोर्डले शेर–ए–बंगला राष्ट्रिय रंगशालामा पूर्वघोषित विश्वविख्यात भारतीय संगीतकार एआर रहमानको कन्सर्ट पनि स्थगित गरेको छ । यो कन्सर्ट पनि राष्ट्रपिताको जन्मशताब्दी समारोहकै एउटा हिस्सा थियो ।

‘हामीले सानो स्तरमा पनि कन्सर्ट आयोजना गर्न सक्थ्यौं । तर त्यसो गरेनौं,’ बीसीबीका अध्यक्ष हसनले थपे, ‘मार्च १८ मा कन्सर्ट हुने छैन तथा २१ र २२ को खेल पनि प्रभावित हुनेछ।

यो शृंखलाका लागि विश्वभरबाट खेलाडी आउनसक्ने ग्यारेन्टी छैन । यहाँ विभिन्न किसिमका बाधाहरू छन् । त्यसैले हामीले दुवै कार्यक्रम स्थगित गरेका छौं । अवस्थामा सुधार आएपछि अर्को महिना यो कार्यक्रम आयोजना हुनेछ ।’

हसनले ५० ओभरको घरेलु प्रतियोगिता ढाका प्रिमियर लिग भने निर्धारित समयमै आयोजना हुने प्रस्ट पारेका छन् । खेलका क्रममा अत्यधिक दर्शकको चाप नहुने भएकाले स्थगित नगरिएको उनको तर्क छ । यो प्रतियोगिता ढाकाबाट चटगाउँमा र कक्सबजारमा स्थानान्तरण गरिएका छन् ।

कोरोना भाइरसको त्रासका कारण शेर–ए–बंगला रंगशालामा जारी बंगलादेश र जिम्बावेबीचको ट्वान्टी–२० शृंखलाका लागि कुनै पनि टिकट बिक्री गरिएको छैन ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ