विश्व कप २०२२: पोर्चुगल अर्को चरणमा

पोर्चुगलले फिफा विश्वकपको राउण्ड अफ १६ मा स्थान बनाएको छ ।

लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।

कतार विश्वकपको नकआउट चरणमा पुग्ने पोर्चुगल तेस्रो टोली हो ।

खेलको ५४ औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।

उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । जसमा ब्रुनोले सहजै गोल गरे ।

यस जितसँगै पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

पोर्चुगलले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने उरुग्वे १ अंक जोडेर पुछारमा रहेको छ ।