फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।
दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४-१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो ।
खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २७औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ३२औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।
६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७१औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४-१ को सहज जित निकालेको हो ।
अष्ट्रेलियाविरुद्ध दुई गोल गरेसँगै जेरुडले फ्रान्सका लागि ५१ औं गोल पूरा गरेका छन् ।
जेरुडले थिएरी हेनरीको नाममा रहेको फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।
जितसँगै फ्रान्सले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘डी’ को फ्रान्स शीर्ष स्थानमा रहेको छ भने हारबाट विश्वकपको सुरुआत गरेको अष्ट्रेलिया पुछारमा रहेको छ ।