विश्व कप बिजेता वाटमोर नेपालको मुख्य प्रशिक्षकमा नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोरलाई नियुक्त गरेको छ ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएकाे क्यानले जनाएकाे छ ।

श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका १ सय ८ म्याच खेलेका छन् ।

उनले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् ।

वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल गत फेब्रुअरीबाट मुख्य प्रशिक्षक विहीन रहेको थियाे ।

नेपालले गत मार्चमा अन्तिम पटक अन्तराष्ट्रिय क्रिकेट खेल्दा जगत टमटाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

गत सेप्टेम्बरमा क्यानले मुख्य प्रशिक्षकको लागि पहिलो पटक दरखास्त आह्वान गरेकाे थियाे । नेपालको मुख्य प्रशिक्षक बन्न ७२ प्रशिक्षकले आवेदन दिएका थिए ।

क्यानले अन्तिम चरणमा अन्तर्वार्ताका लागि १५ जनालाई छनोट गरेको थियो । तर, अन्तर्वार्ताका लागि १२ जना मात्र उपस्थित भए ।

अन्तर्वार्तापछि क्यानले वाटमाेर सहित ३ प्रशिक्षकको नाम आईसीसीमा पठाएको थियाे ।

आईसीसीकाे सहमतीमा क्यानले वाटमोरलाई नयाँ प्रशिक्षक नियुक्त गरेकाे छ ।