विश्व कप : दक्षिण कोरियालाई पोर्चुगलको चुनौती

ढोहा । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह ‘एच’ अन्तर्गत अन्तिम खेलमा पोर्चुगलले आज दक्षिण कोरियाविरुद्ध खेल्दैछ । दक्षिण कोरिया–पोर्चुगलबीचको खेल शुक्रबार राति ८:४५ देखि एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । पोर्चुगल लगातार दुई खेल जित्दै नकआउट चरणमा पुगिसकेको छ ।

उसले पहिलो खेलमा घानालाई ३–२ तथा दोस्रो म्याचमा उरुग्वेलाई २–० ले हरायो । पोर्चुगल अब समूह चरणका तीनै खेल जित्दै नकआउट चरणमा पुग्न चाहन्छ । ऊ ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । नकआउटको झिनो आशा कायमै राखेको दक्षिण कोरिया दबाबमा छ । उसले अन्तिम १६ को यात्रा तय गर्न पोर्चुगललाई हराउनैपर्ने हुन्छ ।

साथै, दक्षिण कोरियाले अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ । उसले पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेल्यो । दोस्रो खेलमा कोरिया घानाविरुद्ध ३–२ ले पराजित भयो । कोरिया नकआउट चरणमा पुग्न उरुग्वेले घानालाई हराउनुपर्नेछ । यस्तो भएमा गोल संख्याका आधारमा कोरिया अन्तिम १६ मा पुग्न सक्छ ।

यदि उरुग्वेविरुद्ध घाना विजयी भएको खण्डमा चाहिँ कोरियाको सम्भावना समाप्त हुनेछ । पोर्चुगल र दक्षिण कोरिया २० वर्षपछि एकअर्काको सामना गर्दैछन् । यी दुई टोलीबीच हालसम्म एकपटक मात्र खेल भएको छ । सन् २००२ को विश्वकपमा भएको भेटमा दक्षिण कोरिया १–० ले विजयी भएको थियो ।