ढोहा । कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा अष्ट्रेलिया प्रवेश गरेको छ । बुधबार समूह ‘डी’ अन्तर्गत डेनमार्कलाई १–० ले हराउँदै अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो । योसँगै अस्ट्रेलिया विश्वकप २०२२ मा नकआउट चरणमा पुग्ने पहिलो एसियाली टोली बन्दै इतिहास रचेकाे छ ।
अस्ट्रेलिया एसियाली क्षेत्रबाट छनोट हुँदै विश्वकपको टिकट काटेको थियो । डेनमार्कविरुद्ध अस्ट्रेलियाका लागि ६० औं मिनेटमा अनुभवी मिडफिल्डर म्याथ्यु लेसीले निर्णायक गोल गरे । उनले म्याग्रीको पासमा गोल गर्न सफल भए । अस्ट्रेलिया १६ वर्षपछि नकआउटमा प्रवेश गरेको हो । यसअघि ऊ सन् २००६ को विश्वकपमा नकआउटमा प्रवेश गरेको थियो ।
बुधबार नै भएको खेलमा समूह ‘डी’ अन्तर्गत ट्युनिसियाविरुद्ध फ्रान्स पराजित भयो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा ऊ १–० ले पराजित भएको हो । यो हारपछि पनि फ्रान्स समूह विजेता बन्यो । उसले नकआउट चरणको टिकट भने यसअघि नै काटिसकेको थियो ।
फ्रान्सलाई हराउन सके पनि ट्युनिसियाले नकआउट चरणको यात्रा भने गर्न सकेन । उसले तीनमध्ये एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेल्यो । फ्रान्सविरुद्ध ट्युनिसियालाई जित दिलाउने क्रममा वाहबी खजरीले निर्णायक गोल गरे । उनले खेलको ५८ औं मिनेटमा गोल गरेका थिए । ट्युनिसिया ४ अंकसहित तालिकाको तेस्रो स्थानमा रहँदै विश्वकपबाट बाहिरिएको छ ।