विश्वकप २०२२ छनोट : अनुभवी रोमियोविरुद्ध कालिन

गत वर्ष रुसमा भएको विश्वकपमा खुबै छाएका थिए, लुका मोड्रिच । सानो कदका यी मिडफिल्डरले सनसनीपूर्ण प्रदर्शन गरेपछि क्रोएसिया पहिलोपल्ट विश्वकपको फाइनलमा पुगेको थियो ।

उनी एकेडेमीमा छँदाका प्रशिक्षक थिए, रोमियो जोज्याक । यिनै रोमियोले सम्हालेको कुवेतविरुद्ध नेपाली टिम विश्वकप २०२२ छनोटको पहिलो खेलमा बिहीबबार मैदानमा ओर्लिंदै छ ।

मोड्रिचसहित फरवार्ड मारियो मान्जुकिच र डिफेन्डर भेड्रान कोर्लुका डायनमो जाग्रेबको एकेडेमीमा छँदा त्यहाँ प्रशिक्षकका रूपमा थिए, रोमियो । ‘निक्कै सानो शरीरका भए पनि साह्रै मिहिनेती थिए । कहिल्यै हार मान्दैन थिए । १७ वर्षको हुँदा पनि उनले अहिले जसरी खेल्ने कहिल्यै सोचिएन,’ रोमियोलाई उद्धृत गर्दै गार्डियनले लेखेको छ, ‘अहिले हामी सम्पर्कमै छौं । विश्वकप, बेलन डि’अरको सफलताबारे कुरा भइरहन्छ ।’

क्रोएसियन फुटबल महासंघको प्रविधिक निर्देशक, डायनमो जाग्रेबमा स्पोर्ट्स तथा एकेडेमी निर्देशक, पोल्यान्डको एक उत्कृष्ट क्लब लेगिया वार्सामा प्रशिक्षक, युरोपेली फुटबल संघ (यूईएफए) मा इन्स्ट्रक्टर भएर झन्डै दुई दशकयता काम गरेका रोमियोको अर्कोपरिचय पनि छ, डा. रोमियो । शारीरिक क्रियाकलापको वैज्ञानिक अध्ययन
(किनेसियोलोजी) मा विद्यावारिधि गरेका उनले अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ, नेपाल रहेको समूहबाट कुवेतलाई अर्को चरणमा पुर्‍याउने लक्ष्य राखेका छन् ।

एसियन कप २०२३ छनोटका रूपमा पनि रहेको यसपालिको विश्वकप छनोटमा रोमियोको टिमविरुद्ध मुख्य प्रशिक्षक योहान कालिनले सम्हालेको नेपाली टिमको प्रदर्शन हेर्न लायक हुनेछ । स्विडिस कालिन समूह ‘बी’ मा नेपाललाई ‘अन्डरडग’ मान्छन् र ठूला टिमहरूलाई चकित पार्न चाहन्छन् । रोमियो भने नेपालजस्तो टिमविरुद्ध प्रभाव देखाउँदै अगाडि बढ्न चाहन्छन् । फिफा वरीयतामा १६६ औं स्थानमा रहेको नेपालभन्दा १० स्थानमाथि छ, कुवेत । वरीयताको अन्तरभन्दा दुई टिमको स्तरमा ठूलो भिन्नता रहेको ठान्छन्, कालिन ।

कुवेतमै ६ महिना अघि भएको मैत्रीपूर्ण खेललको पहिलो प्रतिस्पर्धामा नेपालले गोलरहित बराबरी गरेको थियो । दोस्रो खेल कुवेतले १–० ले जित्यो । दुवै खेलमा गोलको अन्तरबाट स्तर बुझ्न गाह्रो थियो । किनभने नेपाली टिमका सबै खेलाडी पूरा समय आफ्नै पेनाल्टी क्षेत्रको वरिपरि कुवेती आक्रमणलाई निस्तेज पार्न प्रयासरत थियो । त्यसपछि रोमियोको टिम निक्कै व्यस्त रह्यो, वेस्ट एसियन फुटबल च्याम्पियनसिप र मैत्रीपूर्ण खेलहरूमा । कालिनको टिम भने निरन्तर ट्रेनिङ गरेर पनि चार औपचारिक र एक अनौपचारिक मैत्रीपूर्ण खेलमै सीमित भयो ।

सरकारले हस्तक्षेप गरेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले कुवेती फुटबल संघलाई सन् २०१५ मा प्रतिबन्ध लगाएको थियो । दुई वर्षपछि प्रतिबन्ध फुकुवा भयो । फुटबलमा ठूलो लगानी विश्वकप २०२२ मा छनोट हुने महत्त्वाकांक्षासहित कुवेतले जुलाई, २०१८ मा रोमियोलाई भित्र्याएको थियो । कालिन दुई वर्षको सम्झौतासहित गत मार्चमा नेपाली टिम सम्हाल्न काठमाडौं आइपुगेका थिए । उनको करिअर हेर्ने हो भने रोमियोसँग दाँज्नै मिल्ने अवस्था छैन ।

रोमियोसँग प्रशिक्षकको यूईएफए प्रो लाइसेन्स छ भने कालिनसँग यूईएफए डिप्लोमा । क्रोएसिया स्वतन्त्रताको युद्धताका जाग्र्रेबमा रहेका ४६ वर्षीय रोमियो सन् २०१४ मा अस्ट्रेलियन फुटबल संघको प्रविधिक निर्देशक छनोटको अन्तिम दुईसम्म पुगेका थिए । ४२ वर्षीय कालिन ‘नेतृत्व र खेल बुद्धिमता’मा दक्खल राख्ने दाबी गर्छन् ।

उनले ६ वर्षअघि सहिद समारक ‘ए’ डिभिजन लिगमा औसत खेलाडीको रहेको क्लब मछिन्द्रलाई सनसनीपूर्ण रूपमा उपविजेता बनाएका थिए । त्यो नै उनको फुटबल करिअरको सबभन्दा महत्त्वपूर्ण उपलब्धि हो । त्यसपछि उनी स्विडेन फर्केर अरू काममै व्यस्त भए ।

कालिनले स्विडिस एमेच्योर फुटबलमा बर्गनासेट्स एआईके र नोट्भिकेन्स आईकेको टिम आठ वर्ष सम्हालेका थिए । मछिन्द्रको इतिहासको आधारमा कालिनलाई खेलाडीको प्रतिभा पहिचान गर्दै त्यसलाई अनुशासित ढंगले व्यवस्थापन गर्नसक्ने प्रशिक्षक मान्न सकिन्छ ।

रोमियोको विशेषता पनि प्रतिभा पहिचान गरी त्यसको विकास गर्ने नै हो । उनले कुवेती टिमको इंग्ल्यान्डको २० दिने यात्रामा आफ्ना तीन खेलाडीलाई प्रिमियर लिग खेल्ने क्षमता भएको बताएका थिए । उनी ‘कुवेती मोड्रिच’को खोजीमा रहेको भन्दै थुप्रै मिडियाले लेखेको छ ।

गत डिसेम्बरमा रोमियाको टिमले अस्ट्रेलियाविरुद्ध मैत्रीपूर्ण खेलमा ४–० को हार बेहोरेको थियो । त्यो गोल अन्तरजस्तो प्रदर्शनमा भिन्नता नरहेको उनले दाबी गरेका थिए । ‘त्यो टिम र अहिलेको टिममा धेरै फरक छ । सुधारप्रति खुसी छु,’ उनको भनाइ वर्ल्ड गेमले लेखेको छ । गत जुलाईमा इंग्ल्यान्ड भ्रमणमा प्रिमियर लिग क्लब एस्टन भिल्ला (फस्ट र रिजर्भ टिमका खेलाडी समावेश) विरुद्ध २–१ ले हारेको कुवेतले वेस्ट एसियन फुटबल च्याम्पियनसिपमा साउदी अरेबियालाई पराजित गरेको थियो ।

सन् १९८० को एसियन च्याम्पियन कुवेतले एकपल्ट (१९८२) मा विश्वकप खेलेको थियो । नेपालको लागि विश्वकप छनोटको यो स्तर (समूह चरण) मा पुग्नु नै सबभन्दा ठूलो सफलता हो । ट्रान्सफर मार्केटका अनुसार रोमियो ४–२–३–१ को संरचनामा टिमलाई मैदानमा उतार्ने गर्छन् । कालिनको टिम संरचना पनि उस्तै छ । तर, मैदानमा कालिन बढी नै रक्षात्मक देखिन्छन् किनभने उनी गोल बेहोर्न चाहदैनन् । र, काउन्टरमा मात्रै अगाडि बढ्ने योजना बनाउँछन् । रोमियोले कुवेती टिमलाई आक्रामक रूप दिइरहेका छन् ।

चर्चित र अनुभवी प्रशिक्षकले सम्हालेको टिमविरुद्ध खेल्दा हुनसक्ने दबाब झेल्न आफू तयार भएको कालिनले बताए । ‘यो विश्वकप छनोटमा सबै टिमसँग चर्चित र अनुभवी प्रशिक्षक छन् । उनीहरूको आफ्नै टेक्निक, रणनिति हुन्छ,’ प्रशिक्षक कालिनले कुवेततर्फ लाग्नुअघि भनेका थिए, ‘मसँग पनि उनीहरूलाई रोक्ने योजना छ । एउटा नभए अर्को योजना तयार गरेको छु । फुटबल नामले होइन, मैदानमा दुवै टिममा उत्तिकै संख्यामा रहेका खेलाडीले खेल्ने हो । उनीहरूमार्फत आफ्नो योजना उपयोग गर्दै अंक जोड्न चाहन्छौं ।’

@Kantipur