विश्वकप छनौटको सुरुवाती दुइ खेल नेपालले अर्कै देशमा खेल्न पर्ने निश्चित -दशरथ रंगशाला हस्तान्तरण गर्न नसकिने

फिफा विश्वकप छनौटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्ने सुरुवाती दुइ खेल दशरथ रंगशालामा नहुने निश्चित भएको छ । राष्ट्रिय खेलकुद परिषदले कात्तिक यता रंगशाला हस्तान्तरण गर्न नसकिने बताएपछि नेपालले कि त अवे, नभए न्युट्रल भन्युमा होम गेम खेल्नेछ ।

सिधै विश्वकप छनौटको दोस्रो चरण खेल्ने अवसर पाएको नेपालले भदौ १९ गते कुवेत र २४ मा चाइनिज ताइपेइसँग घरेलु मैदानमा खेल्ने तालिका छ । तर नेपालसँग दशरथ रंगशालाको विकल्प छैन । भूकम्पमा क्षति भएपछि चीनले पुनर्निर्माण गरिरहेको रंगशालाको ८० प्रतिशतभन्दा बढी काम सकिएको छ । मंसिरमा हुने दक्षिण एशियाली खेलकुदको उद्घाटन रंगशालामा हुने बताइएको छ ।

तर कात्तिक १५ यता रंगशाला हस्तान्तरण गर्न नसक्ने बताएपछि परिषदले विश्वकप छनौटको दोस्रो चरणका लागि एन्फालाइ विकल्प खोज्न भनेको छ । एन्फाले भने रंगशाला आफूलाइ दिए फिफाको मापदन्ड अनुसार खेलाउनयोग्य बनाउने बताउँदै आएको थियो ।

तर अब भने एन्फा सुरुवाती दुइ खेल कहाँ खेलाउने भन्नेतर्फ लागेको छ । कुवेत र चाइनिज ताइपेइसँग सुरुमा अवे खेल्ने कि न्युट्रल भेन्युमा होम गेम खेल्ने भन्नेमा एन्फा निष्कर्षमा पुगिसकेको छैन । तर घरेलु मैदानमा प्राप्त हुने आत्मविश्वास र समर्थकको साथ खेलाडीले न्युट्रल भेन्युमा पाउनेछैनन् ।

न्युट्रल भेन्युमा जाँदा नेपालले टिकटबाट प्राप्त हुने रकम त गुमाउने छ नै, दर्शकले आफ्ना खेलाडीको खेल प्रत्यक्ष हेर्न पाउने अवसरबाट पनि वञ्चित हुनेछन् । सबैभन्दा विडम्बनाको कुरा के भने, नेपालको व्यवस्थापकीय क्षमता र पूर्वाधार अन्तर्राष्ट्रियरूपमै लज्जाजनक स्थिति बनेको छ ।

@Kantipur