विश्वकप खेल्न नेपाललाई निकै कठिन, सिंगापुरलाई जिते नपुग्ने 

एसिया क्वालिफायरमा भोलि नेपालले सिंगापुर विरुद्ध  अन्तिम खेल खेल्दैछ। पहिलो खेल कतारसँग ४ विकेटले हारेको नेपालले बाँकी दुई खेलमा भने मलेसिया र कुवेत विरुद्ध जित हासिल गरेको थियो।

अंक तालिकामा सिंगापुर ५ अङ्कसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ। सिंगापुरसँग नै अन्तिम खेल भएकोले त्यो खेल जसले जित्यो उही विश्वकपको होडमा कायम रहनेछ।

विश्वकप क्रिकेटको संरचना फुटबलको जस्तो हैन। आइसिसीले समय समयमा नियम परिवर्तन गर्दै आएको हुन्छ। एसिया क्वालिफायरमा पनि सुरुमा दुई वटा टिम छनौट हुने भन्ने थियो। तर पछि ग्लोबल क्वालिफायर प्रतियोगिताको होस्ट भएको नाताले युएई स्वतः छनौट हुने घोषणा आइसिसीले गरिदियो।

यस कारण एसिया क्वालिफायरबाट जम्मा १ टिम मात्र ग्लोबल क्वालिफायरमा जाने भयो। सिंगापुरविरुद्धको भोलिको खेल ड्र भएर वा पानी परेर रद्द भएर पनि नेपाललाई पुग्दैन, नेपालले जित्नै पर्ने हुन्छ।

नेपालले सिंगापुरविरुद्ध खेल जित्दैमा अस्ट्रेलियामा २०२० मा हुने विश्वकप खेल्न पाइने भने हैन। यो जितपछि फेरि अर्को क्वालिफायर खेल्नुपर्छ जसमा सबै महादेशबाट क्वालिफायर खेलेर जितेर आएका टिमहरु हुन्छन्।

विश्वकप क्वालिफायर युएईमा आगामी ११ अक्टोबरदेखि ३ नोभेम्बरसम्म हुँदैछ। १४ देशका टिम यसमा सहभागी हुनेछन् जसबाट मात्र ६ टिम विश्वकपका लागि छनौट हुनेछन्।

सहभागी हुने १४ देशमध्ये स्कटल्यान्ड, जिम्बाब्वे, नेदरल्यान्डस, हङकङ, ओमान र आयरल्यान्ड र युएई होस्टको नाताले छानिए। बाँकी ७ टिम भने क्षेत्रीय प्रतियोगिताहरु जितेर सहभागी हुनेछन् जसमध्ये इस्ट एसिया प्यासिफिकबाट पपुवा न्युगिनी, अफ्रिकाबाट केन्या र नामिबिया र युरोपबाट जर्सी छनौट भइसकेको छ। एसियाबाट एक टिम आइतबार छनौट हुनेछ भने अमेरिकाबाट दुई टिम अगस्तमा हुने प्रतियोगिताबाट छानिने छ।