विश्वकपका कीर्तिमानी अम्पायर

विश्वकप क्रिकेटमा सबैभन्दा बढी खेल खेलाउने अम्पायरको कीर्तिमान डेभिड सेफर्डको नाममा दर्ता छ। इङ्ल्यान्डका नागरिक सेफर्डले विश्वकपमा ४६ खेल खेलाएका छन्। सन् १९९६, सन् १९९९ र सन् २००३ को विश्वकपको फाइनल पनि सेफर्डले नै खेलाएका थिए। सन् २००९ को अक्टोबर २७ मा ६८ वर्षको उमेरमा उनको निधन भएको थियो।

उनी आफ्नो समयमा प्रभावशाली खेलाडी पनि थिए। तर, खेलाडीभन्दा पनि उनले कुशल अम्पायरका रूपमा आफ्नो छुट्टै परिचय बनाएका थिए। अम्पायरका रूपमा उनले ९२ टेस्ट र एक सय ७२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाएका थिए। सन् १९७९ मा खेल जीवनबाट सन्न्यास लिएपछि उनी अम्पायरको भूमिकामा सक्रिय भएका थिए।

यसैगरी विश्वकपमा सबैभन्दा धेरै खेल खेलाउने अम्पायरको सूचीमा स्टिभ बकनर दोस्रो स्थानमा छन्। ७३ वर्षीय जमैकन नागरिक बकनरले विश्वकपमा ४५ खेल खेलाएका थिए। उनले सन् १९९२ देखि सन् २००७ सम्म पाँचवटा विश्वकप खेलाएका थिए। बकनरले एक सय २८ टेस्ट र एक सय ८१ एकदिवसीय खेल खेलाएका थिए।

Originally posted @ Annapurna