विवाद पछि पिएसजीको अभ्यासमा नेयमार सामेल

नेयमार पिएसजी को अभ्यासमा फर्केका छन् । सन् २०१७ मा १ सय ९८ मिलियन पाउन्डमा पिएसजी पुगेयता नेयमार मैदान बाहिर र भित्र संघर्ष गरिरहेका छन् ।

यसपटक प्रि सिजनको सुरुवातमा क्लबको अभ्यासमा नफर्केपछि उनी थप विवादमा तानिएका थिए । क्लबले उनको बोनस रकम समेत काटेको छ । प्रि सिजन अभ्यास सुरु भएको एक साता पछि नेयमार क्लबको प्रशिक्षणमा फर्केका छन् ।

उनी सोमबार जिममा प्रशिक्षणका लागि सामेल भएका थिए । कोपा अमेरिकाका दौरान गोली गाठामा चोट लागेपछि उनी मैदान बाहिर रहँदै आएका छन् । उनले सोमबार जिमको वर्कआउटलाई इन्स्टाग्राममा अपलोड गरेका थिए ।

पिएसजीका अन्य खेलाडी प्रि सिजन तयारीमा जुट्दा नेयमार भने ब्राजिलमा फाइभ ए साइड फुटबलमा सहभागि भएका थिए । यहिबीचमा उनी पुरानो क्लब बार्सिलोना फर्कने हल्ला पनि चलिरहेको छ ।

पिएसजीका प्रमुख लियोनाद्रोले पनि बार्सिलोनासँग प्रारम्भिक छलफल भएको स्वीकार गरेका थिए । तर, यहि बीचमा बार्सिलोनाले १ सय ८ मिलियनमा एन्टोनी ग्रिजमनलाई भित्राएपछि नेयमारको सम्भावना कमजोर भएको आँकलन गरिएको छ ।