विवादमा घेरिदै एन्फा अध्यक्ष शेर्पा, खेलकुदमन्त्री विश्वकर्मा पनि तानिदै

कोरोना भाइरसका कारण अन्य खेलगतिविधि जस्तै नेपाली फुटबल पनि ठप्प छ ।

तर, फुटबललाई चलाउने अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवाद सतहमा आएको छ । यति मात्र नभइ अध्यक्ष कर्मा छिरिङ शेर्पाले तराई मधेसका जनतालाई राष्ट्रियता सिकाउनबारे दिएको अभिव्यक्तिपछि संसद बैठकमै उनलाई अविलम्ब निलम्बन गर्नुपर्ने माग उठेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले केही समय अघि एक अनलाइनलाई तराईमा राष्ट्रियताको कमी भएको भन्दै अभिव्यक्ति दिए ।

ग्रासरुट कार्यक्रमबारे बोल्दै उनले तराईमा राष्ट्रियता सिकाइ रहेको समेत बताउन भ्याए । अध्यक्ष शेर्पाको त्यो अभिव्यक्ति तराईमा सुरु गरिएको ग्रासरुट फुटबलले राष्ट्रियता बलियो हुने आशयको थियो । तर, उनले यही अभिव्यक्ति अहिले उनैलाई टाउको दुखाईको विषय बनेको छ ।

अध्यक्ष शेर्पाले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रतिनिधि सभाको बैठकमै उनलाई अविलम्व निलम्बन गरि कारवाही गर्नुपर्ने माग उठेको छ । यति मात्र नभइ विवादमा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा समेत मुछिएका छन् । यता, खेलकुद मन्त्री विश्वकर्माले आफुमाथि लागेको गम्भीर आरोपको जवाफ प्रतिनिधि सभाको बैठकबाटै दिने बताएका छन् ।

त्यस्तै अध्यक्ष शेर्पाले भने एक वक्तव्य जारी गर्दै भिडियोलाई काँटछाँट गरेर नियोजित रुपमा गलत प्रचार गर्न खोजिएको दावी गरेका छन् । साथै, मधेशको राष्ट्रियताको सवालमा कहिल्यै प्रश्न नगरेको भन्दै आफुविरुद्ध प्रोपोगाण्डा रचिएको उनको भनाइ छ । तर, अध्यक्ष शेर्पाको विषयमा प्रधानमन्त्री कार्यालय, राखेप, मधेश आयोग र फिफा र एएफसीमा समेत उजुरी परेको छ । त्यस्तै पछिल्लो समय एन्फा पदाधिकारीहरुबीच पनि एकरुपता छैन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले एन्फा कार्यसमिति बैठकले गरेका निर्णयमा असहमति राख्दै नोट अफ डिसेन्ट नै लेखेका थिए । एन्फा पदारीकारीबीचको जुंगाको लडाईले कहिले अन्त्य होला रु यस्तो अवस्थामा कारोनाका कारण थलिएको नेपाली फुटबलले कसरी निकास पाउँला रु प्रश्न अनुत्तरित छ ।