म्यान्चेस्टर युनाइटेडको खेलाडी माथी लेस्टर सिटिको नजर

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका इङलिस खेलाडी जेस्सी लिङ्गार्ड माथी अर्का इङलिस क्लब लेस्टर सिटिको नजर परेको छ। रिपोर्टका अनुसार यो ट्रान्सफर सिजन लेस्टर सिटिले आफ्ना खेलाडी जेम्स म्याडिसन गुमाउन सक्ने हुँदा क्लबको नजर लिङ्गार्ड माथी परेको हो।

लिङ्गार्डले युनाइटेडमा पर्याप्त खेल समय नपाएकाले उनले गत सिजनको मध्यमा नै वेस्ट ह्याममा लोनमा जानू परेको थियो। वेस्ट ह्याममा भने उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। यसै कारणले धेरै क्लबहरुको नजर उनी माथी पर्न गएको देखिन्छ। लेस्टरका साथसाथै अट्लेटिको मड्रिड, एभरटन र वेस्ट ह्याम पनि उनलाई भित्र्याउन इच्छुक रहेको भनिएका छन्।
रिपोर्टका अनुसार युनाइटेडले लिङ्गार्डको मूल्य करिब ३० मिलियन पाउन्ड निर्धारण गरेका छन्। हालै युनाइटेडका प्रशिक्षक ओले गनर शोल्सरले भने लिङ्गार्ड क्लबको योजनाहरुमा रहेको भनी जानकारी दिएका थिए। यसका साथसाथै उनले लिङ्गार्ड टिममा आफ्नो स्थानका लागि लड्न तयार रहेकोे पनि भनेका छन्।
२८ वर्षका इङ्लिस खेलाडी लिङ्गार्ड म्यान्चेस्टर युनाइटेडका एकेडेमीकै उत्पादन हुन्। उनले युनाइटेडका लागि २१० खेलमा ३३ गोल गरेका छन्। वेस्ट ह्यामका लागि भने उनले १६ खेलमा ९ गोल र ४ असिस्ट गरेका थिए।