लेभान्टेद्वारा रियल म्याड्रिड चकित

ला लिगमा साविक विजेता रियल मड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले हार व्यहोरेको हो । खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटियो ।

तर, खेलको १३ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाए । खेलको ३२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २-१ को जित दिलाए । त्यसअघि खेलको ६४ औं मिनेटमा रोजर्सले पेनाल्टीमा गोल गर्न सकेनन् ।

रोजर्सको प्रहार रियलका थिबाउट कोर्टुवाले बचाए । हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दुरी कम गर्ने मौका गुमाएको छ ।

एट्लेटिकोको ४७ अंक रहेको छ । दोस्रो स्थ्न्को रियलले २० खेलमा ४० अंक जोडेको छ ।

लेभान्टे २६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।