लेफ्ट ब्याक भित्र्याउन इन्टर मिलान बार्सिलोनासँग सम्पर्कमा

एजेन्सी, इटालीयन क्लब इन्टर मिलान बार्सिलोनाका लेफ्ट ब्याक जोर्डी आल्बा भित्र्याउन बार्सिलोनासँग सम्पर्कमा आएका छन्। रिपोर्टका अनुसार इन्टरको आर्थिक आवस्था बलियो नभएकाले इन्टर मिलानले आफ्नो खेलाडी पठाइ जोर्डी आल्बा भित्र्याउन प्रयास गर्नेछन्।

जोर्डी आल्बा २०२४ सम्म बार्सिलोनामा अनुबन्ध छन्। आल्बा बार्सिलोनाका एक अनुभवी खेलाडी हुनुका साथसाथै उनको बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीसँग खेल मैदान भित्र र बाहिर अत्यन्तै राम्रो सम्बन्ध रहेको मानिएको छ। यसै कारणले बार्सिलोनाले उनलाई क्लब छाड्न दिने सम्भावना भने न्यून रहेको देखिएको छ।
३२ वर्षका स्पेनिश खेलाडी आल्बा २०१२ मा अर्का स्पेनिश क्लब भ्यालेन्सियाबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले बार्सिलोनाका लागि ३८५ खेल खेल्नुका साथै २२ गोल पनि गरेका छन्।