लुइस सुवारेजले बार्सिलोनाविरुद्धको खेल नखेल्ने, यस्तो छ कारण

एथ्लेटिको मड्रिड तथा उरुग्वेका फरवार्ड लुइस स्वारेज कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

फिफा विश्वकप छनौट खेल खेल्न उरुग्वेको टोलीमा रहेका बेला उनलाई कोरोना देखिएको उरुग्वेन फुटबल संघले पुष्टि गरेको छ । संघका अनुसार स्वारेजसहित ३ जना खेलाडीमा कोरोना देखिएको छ ।

यससँगै स्वारेजले बुधबार बिहान हुने ब्राजिलसँगको खेल गुमाउनेछन् । साथै, उनले ला लिगामा पूर्वक्लब बार्सिलोनाविरुद्ध हुने खेल पनि गुमाउने पक्का भएको छ । एथ्लेटिकोले आगामी शनिबार राति ला लिगामा आफ्नो घरेलु मैदानमा बार्सिलोनासँग भिडन्त गर्दैछ ।

कोरोना जाँचको रिपोर्ट पोजेटिभ देखिए पनि स्वारेजलाई कोरोनाका लक्षण भने देखिएको छैन । रिपोर्ट पोजेटिभ देखिनासाथ स्वारेज होम आइसोलेसनमा बसेका छन् । उरुग्वेको टोलीमा अझै संक्रमण बढ्न सक्ने देखिएको छ । यदि टोलीका ६ जनासम्म खेलाडीमा कोरोना पुष्टि भए उरुग्वेले ब्राजिलसँग खेल्ने खेल रद्द हुनेछ ।