लियोनल मेस्सीले नेपाली जुत्ता लगाउनु को वास्तविकता के हो?

लियोनल मेसीले लगाएको जुत्ताको बारेमा नेपालमा व्यापक रुपमा चर्चा भएको छ । मेसीले रियल सोसिडाडसँगको खेलको लागि एनोइटा यात्रा गर्ने क्रममा नेपाली शब्द भएको जुत्ता लगाएको फोटो सार्वजनिक भएपछि त्यसबारेमा चर्चा सुरु भएको हो ।

मेसीले लगाएको उक्त जुत्ताको बारेमा धेरै नेपालीले आ–आफ्नो तरिकाले ब्याख्या गरे । कतिले मेसीले नेपाली ब्राण्डको जुत्ता लगाए भने कसैले त कुनै नेपालीले उनलाई उक्त जुत्ता उपहार दिएको हुनुपर्छ भनेर अनुमान लगाए । तर, उक्त जुत्ता स्पोर्टस् ब्राण्ड एडिडासकै उत्पादन हो । मेसी सँधै अडिडास ब्राण्डको जुत्ता लगाउँछन् किनकी उनी उक्त ब्राण्डको एम्बेस्डर पनि हुन् ।

एडिडासले करिब ११ महिनाअघि ‘फेरेल एक्स’ सेरिजको जुत्ता बजारमा ल्याएको थियो । सोही सेरिजको जुत्तामा उनी रियल सोसिडाड क्लब रहेको स्थान सान सेबास्टियन विमानस्थलमा देखिए । लेफ्ट ब्याक जोर्डी अल्बासँग हिडिरहेका उनको दायाँ खुट्टाको जुत्तामा ‘संसार’ शब्द लेखिएको थियो भने बायाँ खुट्टामा लगाएको जुत्तामा अंग्रेजी शब्दमा ‘Equality’ लेखिएको थियो ।

एडिसासले उक्त सेरिजको जुत्ता कालो, पर्पल तथा हल्का कालो रंङ्गमा उपलब्ध गराएको छ भने उक्त जुत्ताको बजार मूल्य २५० अमेरिकी डलर पनि तोकेको छ ।