लिभरपुल विजयी सिटीलाई पछि पार्दै शीर्ष स्थानमा

इंग्लिश प्रिमियर लिगमा लिभरपुल विजयी हुँदै शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई ४ – १ ले हराउँदै शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले २ गोल गरे । यस्तै सेरडान शाकिरी र मोहमद सलाहले एक एक गोल गरे । कार्डिफका कल्लुम पाटरसनले एक गोल फर्काए ।

एनफिल्डमा खेलको १० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता २ – ० को बनाए । खेलको ७७ औं मिनेटमा कार्डिफका पाटरसनले गोल गर्दै खेल २ – १ मा ल्याए ।

तर, ८४ औं मिनेटमा शाकिरीले गोल गर्दै लिभरपुललाई ३ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४ – १ को सहज जित दिलाए । जितसंगै लिभरपुलले शीर्ष स्थानको अग्रता ३ अंकको बनाएको छ । लिभरपुलको १० खेलबाट २६ अंक छ । ९ खेलबाट २३ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । पराजित कार्डिफ ५ अंक जोडेर १७ औं स्थानमा छ ।