लिभरपुल बिरुद्ध टोनी क्रुसको यस्तो उत्कृष्ट प्रदर्शनको हाइलाइट

रियल म्याड्रिडले च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा लिभरपुल विरुद्ध उत्कृष्ट जित निकालेको थियो भने सो खेलमा भिनिसियस जुनियरले दुई गोल र मार्को एसेन्सियोले एक गोल गरे तर उक्त जितमा रियलका स्टार मिडफिल्डर टोनी क्रुसको पनि भूमिका रहेको थियो।

३१ वर्षका स्टार जर्मनले उक्त खेलमा निकै उत्कृष्ट प्रदर्शन गरे र मिडफिल्डमा उनको राम्रो नियन्त्रण रहेको थियो। उनले खेलको पहिलो गोलको लागि भिनिसियसलाई निकै राम्रो असिस्ट गरे भने पुरै खेलमा उनको निकै राम्रो प्रभुत्व रहेको थियो।

हाल उक्त खेलमा टोनी क्रुसको उत्कृष्ट प्रदर्शनको हाइलाइट भाइरल हुँदै गएको छ। उनले बलको लागि लिभरपुलका खेलाडीलाई पछि पारेको र आफ्नो चतुराइको मद्दतमा गोल अवसर सिर्जना गरे भने रियलको जितमा उनको निकै ठुलो भूमिका रहेको थियो।

खेलको २७ औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । यससँगै उनी च्याम्पियन्स लिगको नकआउट चरणमा गोल गर्ने रियलका दोस्रो कान्छा खेलाडी बने ।

भिनिसियसले २० वर्ष २ सय ६८ दिनको हुँदा गोल गरेका हुन् । सर्वाधिक कम उमेरमा गोल गर्ने कीर्तिमान भने राउलको नाममा रहेको छ । उनले सन् १९९६ मा १८ वर्ष २ सय ५३ दिनको हुँदा युभेन्ट्सविरुद्ध गोल गरेका थिए ।

३६ औँ मिनेटमा एसेन्सियोले गोल गर्दा पहिलो हाफमा रियल २-० ले अघि रह्यो ।

खेलको ५१ औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने कोसिस गरे ।

तर, खेलको ६५ औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

यस जितसँगै रियलले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिभरपुललाई भने घरेलु मैदानमा हुने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।

एनफिल्डमा हुने दोस्रो लेग आगामी अप्रिल १४ मा हुनेछ ।