लिभरपुल क्वाटर फाइनल पुग्न सफल

एजेन्सी, इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै समग्रमा ४-० को जितसहित लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।

लिभरपुलले जर्मन क्लबलाई पहिलो लेगमा समेत २-० ले नै हराएको थियो ।

हंगेरीको पुस्कास एरिनामा भएको दोस्रो लेगमा लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।

लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा सलाहले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।