लिभरपुलसँग हारे बाबजुद मेस्सीले बालोन डि’ओर जित्ने छ, एमबाप्पेको समर्थन मेस्सीलाइ (भिडियो)

पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पेले यसपटक बालोन डि’ओर मेस्सीले नै जित्ने दाबी गरेका छन् ।

उनलाई ‘२०१९ को बालोन डि’ओर कसले जित्छ’ भन्ने प्रश्न सोधिएको थियो । जसमा उनले यसपटक मेस्सी जत्तिको उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाडी नरहेको बताए । ‘मेस्सी’, एमबाप्पेले ढुक्कसाथ जवाफ दिए, ‘किनभने, यसपटक उनी जत्तिको प्रदर्शन गर्ने कोही छैन ।’

एमबाप्पेले यो बताएका छन् कि, युरोपियन च्याम्पिन्स लिगमा बार्सिलोनाले लिभरपुलसँग लज्जास्पद हार व्यहोरे पनि त्यसले मेस्सीलाई बालोन डि‘ओर जित्नबाट रोक्दैन ।

‘यो सिजन उनी उत्कृष्ट थिए भनेर उसले साबित गरिसकेका छन् । तर, यो वर्षको डिसेम्बरसम्मको प्रदर्शन पर्खिनुपर्ने हुन्छ,’ एमबाप्पेले भने, ‘यहाँसम्मको अवस्थामा उनी १ नम्बर दाबेदार हुन् ।’

यो सिजन एमबाप्पेले मेस्सीलाई पछि पारेर युरोपियन गोल्डेन बुट जित्ने दौडमा छन् । हाल मेस्सी ला लिगामा ३६ गोलसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेका एमबाप्पेको ३२ गोल छ । ला लिगा सकिइसकेको छ तर लिग वानमा अझै पिएसजीले एक खेल खेल्न बाँकी छ ।