लिभरपुलद्धारा टोटनह्याम पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम आफ्नै घरलु मैदानमा हारेको छ । लिगको पाँचौं हप्ताको खेलअन्तर्गत आज भएको खेलमा टोटह्याम लिग लिडर लिभरपुलसँग आफ्नै घरमा २–१ ले पराजित भएको हो । यो हारसँगै टोटनह्यामलाई अंक तालिकामा धक्का लागेको छ । आजको खेल जितेर अंक तालिकामा स्थिति सुधार्ने उसको प्रयासमा पानी पोखियो ।

लिभरपुललाई अवे मैदानमा जिताउन रोवेर्टो फर्मिनो र जर्जिनियो विज्नाल्डुमले १–१ गोल गरे । यो जितसँगै लिभरपुलले लिगमा आफ्नो पाँच खेलसम्मको अपराजित यात्रा जारी नै राखेको छ । लिभरपुलका लागि खेलको ३९औं मिनेटमा विज्नाल्डुमले गोल गरेका थिए । सोही गोलको मदतमा लिभरपुल पहिलो हाफमा १–० ले अगाडि रहेको थियो । त्यसपछि दोस्रो हाफको ५४औं मिनेटमा फर्मिनोले गोल गरेर घरेलु टोलीविरुद्ध २–० को अग्रता दिलाएका थिए ।

तर, ९० मिनेटपछि थपिएको समयमा घरेलु टोलीले १ गोल फर्कायो । उसका लागि इरिक लामेलाले गोल गरे पनि टोली हार पनि टरेन । यो जितसँगै लिरभपुलले पाँच खेलमा पाँचै खेल जितेर खातामा १५ अंक बनाएको छ । र, अंक तालिकाको सिरानमा रहेकोा छ । हारेको टोटनह्याम भने पाँच खेलबाट ९ अंकसहित लिगको पाँचौं स्थानमै सीमित भएको छ । आज राति हुने अन्य खेलको नतिजाले अंक तालिका फेरबदल हुनसक्ने छ ।