लिभरपुलको शान्दार जितमा जोटाको ह्याटि्रक

लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा एटलान्टालाई हराएको छ ।

मंगलबार राति जोटाले ह्याट्रिक गरेको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले हराएको हो ।

समूह डीको तीनै खेलमा योर्गेन क्लोप नेतृत्वको लिभरपुलले जित निकालेको छ । थप एक जितले लिभरपुललाई च्याम्पियन्स लिगको नकआउट चरणमा सुरक्षित गर्नेछ ।

पोर्चुगलका अन्तराष्ट्रिय फरवार्ड जोटाले लगातार चौथो खेलमा लिभरपुलका लागि गोल गरेका हुन् । रोबर्टो फिर्मिन्होलाई बेन्चमा राख्दै प्रशिक्षक क्लोपले जोटालाई पहिलो रोजाईको रुपमा मैदान उतारेका थिए ।

खेलको १६ औं मिनेटमा जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए । उनले ३३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफ सुरु हुने बित्तिकै दोस्रो मिनेटमा सलाहाले लिभरपुललाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मानेले लिभरपुलका लागि चौथो गोल गरे । ५४ औ मिनेटमा जोटाले च्याम्पियन्स लिगमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरेका थिए ।

सोही समूहको अर्को खेलमा डच क्लब अजाक्सले एफसी मिडलिजेन्डलाई २–१ गोल अन्तरले हरायो ।

समूहमा शीर्ष स्थानको लिभरपुलले ९ अंक जोडेको छ । डच क्लब अजाक्स ४ अंक सहित दोस्रो स्थानमा छ । एटलान्टा समेत समान अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

एफसी मिडजिलेन्ड अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।