प्रिमियर लिगमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ ।
शनिबार राति भएको खेलमा वाटफोर्डले लिभरपुललाई ३–० ले हराएको हो ।
ईस्माइला सर्रले दुई तथा कप्तान ट्रोय डेनीले एक गोल गरेपछि लिभरपुलको सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा घरेलु टोली वाटफोर्डले दोस्रो हाफमा तीन गोल गरेको थियो ।
सर्रले ५४ औ मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औ मिनेटमा उनैले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
कप्तान डेनीले ७२ औ मिनेटमा गोल गर्दै वाटफोर्डको शानदार जित सुनिश्चित गरेका थिए ।
प्रियिमर लिगमा शीर्ष स्थानको लिभरपुललाई २२ अंकको अग्रता प्राप्त छ । तर वाटफोर्डले प्रिमियर लिगमा अप्रत्यासित र स्मरणीय जित आत्मसाथ गर्न सफल भएको छ ।
जितसंगै वाटफोर्ड रेलिगेशन जोन भन्दा एक स्थान माथि उक्लिएको छ । उसले २७ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ७९ अंक छ ।