लिभरपुलको पिएसजी माथी उत्कृष्ट जित

च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा लिभरपुलले घरेलु मैदानमा फ्रेन्च लिग विजेता पिएसजीलाई ३-२ ले पराजित गर्यो। खेलको अधिकांश समय पछि परेको पिएसजीका लागि किलियन एम्बाप्पेले ८३ औं मिनेटमा बराबरी गोल गरेपनि ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनोले इन्जुरी समयमा लिभरपुललाई विजयी गोल दिलाए।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले सुरुआती दुई गोल गर्यो। खेलको ३० औं मिनेटमा लिभरपुलका फरवार्ड ड्यानिएल स्टरेजले हेड मार्फत गोलगर्दै घरेलु टोलीलाई अग्रता दिलाए। सिजनको सुरुआतबाट राम्रो फर्ममा रहेका लिभरपुलका फुल ब्याक एन्ड्रु रोबर्ट्सनको क्रसलाई स्टरेजले गोलमा परिणत गरेका थिए। खेलको ३६ औं मिनेटमा पेनाल्टीबाट पाएक अवसरलाई सदुपयोग गर्दै जेम्स मिल्नरले लिभरपुललाई दोस्रो गोल दिलाए। खेलको ४० औं मिनेटमा बक्सबाट उत्कृष्ट गोल गर्दै थोमस म्युनररले पिएसजीलाई पहिलो हाफमै खेलमा फर्काए।

दोस्रो हाफमा लिभरपुलका लागि मोहम्मद सलाहले गोल गरेपनि उनको गोललाई रेफ्रीले अस्विकार गरे। पिएसजीको बक्समा बल जित्ने क्रममा स्टुरेजले गोलकिपर अल्फोन्से अरिओलालाई फौल गरेकाले उक्त गोललाई मान्यता दिईएन। दोस्रो हाफमा फितलो प्रदर्शन गरेपनि पिएसजीलाई एम्बाप्पेले ८३ औं मिनेटमा बराबरी दिलाए। खेलको ८६ औं मिनेटमा लिभरपुलले करिब २२ यार्डबाट फ्रिकिक मार्फत गोल गरे अवसर पाएपनि एलेक्सजान्डर आर्नोल्डको प्रहार बारमा लागेर बाहिरियो। फर्मिनोले इन्जुरी समयमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई जित दिलाए।