लिभरपुलका स्टारले गरे तलब वृद्धिको माग

लिभरपुलका स्टार मोहम्मद सालाहले नयाँ सम्झौताको लागि तलब वृद्धिको माग गर्ने खबर छ। लिभरपुल उनी सँग सम्झौता विस्तार गर्न इच्छुक रहेको छ तर सालाहले क्लब सामु £५००,००० प्रति हप्ताको तलब माग गर्ने खबर छ।

२०१७मा सालाह लिभरपुलमा आएका थिए र उनको हाल सम्म लिभरपुल क्यारियर निकै उत्कृष्ट रहेको छ र सो क्रममा उनी लिभरपुलको एक महत्त्वपूर्ण सदस्य बनेका छन् तर सालाहको सम्झौता २०२३मा अन्त्य हुने छ भने उनी ला लिगा क्लबमा जान सक्ने धेरै हल्ला हुँदै गर्दा लिभरपुल उनी सँग नयाँ सम्झौता साइन गर्न इच्छुक रहेको बेला सालाहले क्लब सामु £५००,००० प्रति हप्ताको तलब माग गर्ने जानकारी छ।

हाल उनको तलब लिभरपुलमा प्रति हप्ता £२००,००० रहेको छ क्लबमा सबैभन्दा धेरै कमाउने खेलाडी भ्यान डाइक हुन् र उनको तलब £२२०,००० प्रति हप्ता रहेको छ। सालाहलाई क्लबमा राख्न रेड्स उनको तलब वृद्धि गर्न तयार रहे पनि उनको माग जतिको वृद्धि गर्न क्लबलाई गाह्रो हुन सक्ने खबर छ।

उनलाई साइन रियल म्याड्रिड, बार्सा र पिएसजी जस्ता क्लबहरू इच्छुक रहेको चर्चा हुँदै गर्दा उनलाई २०२३मा फ्री एजेन्टमा गुमाउनु लिभरपुलको लागि ठुलो घाटा हुने छ। हाल सम्म सालाहले लिभरपुलका लागि १४८ खेलमा ९७ गोल गरेका छन् भने उनले क्लबलाई लिग र च्याम्पियन्स लिग जिताउन मद्दत गरेका छन्।