लिङ्गार्ड भित्र्याउने दौडमा एभरटन

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका इङलिस खेलाडी जेस्सी लिङ्गार्ड भित्र्याउने दौडमा अर्का इङलिस क्लब एभरटन पनि थपिएको देखिन्छ। रिपोर्टका अनुसार एभरटनका नवनियुक्त प्रशिक्षक राफा बेनिटेज लिङ्गार्ड भित्र्याउन इच्छुक छन्।

लिङ्गार्डले युनाइटेडमा पर्याप्त खेल समय नपाएकाले उनले गत सिजनको मध्यमा नै वेस्ट ह्याममा लोनमा जानू परेको थियो। वेस्ट ह्याममा भने उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। यसै कारणले धेरै क्लबहरुको नजर उनी माथी पर्न गएको देखिन्छ। एभरटनका साथसाथै अट्लेटिको मड्रिड र वेस्ट ह्याम पनि उनलाई भित्र्याउन इच्छुक भनिएका छन्।
रिपोर्टका अनुसार युनाइटेडले लिङ्गार्डको मूल्य करिब ३० मिलियन पाउन्ड निर्धारण गरेका छन्। हालै युनाइटेडका प्रशिक्षक ओले गनर शोल्सरले भने लिङ्गार्ड क्लबको योजनाहरुमा रहेको भनी जानकारी दिएका थिए। यसका साथसाथै उनले लिङ्गार्ड टिममा आफ्नो स्थानका लागि लड्न तयार रहेकोे पनि भनेका छन्।
२८ वर्षका इङ्लिस खेलाडी लिङ्गार्ड म्यान्चेस्टर युनाइटेडका एकेडेमीकै उत्पादन हुन्। उनले युनाइटेडका लागि २१० खेलमा ३३ गोल गरेका छन्। वेस्ट ह्यामका लागि भने उनले १६ खेलमा ९ गोल र ४ असिस्ट गरेका थिए।