‘लिग खेल्न एकदमै आतुर छु’ : अनन्त तामाङ

थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबमा दोहोरो सम्झौता गरेका कारण पल्सर शहीद स्मारक ए डिभिजन लिग खेल्न नपाएका अनन्त तामाङ्ले लिग खेल्न आफू आतुर रहेको बताएका छन् । अनन्तले एक दुई दिनभित्र कुनै एक क्लबमा आबद्ध भएर ए डिभिजन लिग खेल्ने बताएका हुन् । अनन्तले अहिलेसम्म ए डिभिजन लिगको अनुभव बटुल्न पाएका छैनन् ।

तर २०७१ को होम एण्ड अवे राष्ट्रिय लिगमा भने अनन्तले सुदूरपश्चिम एघारबाट खेलेका थिए । ‘कम्तिमा ए डिभिजन लिग खेलेको अनुभव बटुल्न चाहन्छु । कुन क्लबबाट खेल्ने भन्दा पनि लिगको अनुभव मेरो प्रोफाइलका लागि महत्वपूर्ण छ,’ अनन्तले भने ।

लिगका नवौं चरण सकिँदासम्म अनन्तले एउटा पनि खेल खेल्न पाएका छैनन् । उनले लिग खेल्न पाएपनि मनाङ र थ्रीस्टारबाहेक कुनै एउटा क्लबबाट खेल्न पाउनेछन् ।