ला लिगा आजबाट सुरू हुने, बार्सिलोनाको पहिलो खेलमा मेस्सी नखेल्ने

स्पेनिस लिग फुटबल ‘ला लिगा’ को नयाँ सिजन आजबाट सुरु हुँदैछ।

आज शुक्रवार राति गत सिजन विजेता बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग पहिलो खेल खेल्दै छ। खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरू हुनेछ। खेल भने एथ्लेटिक बिल्बाओको घरेलू मैदानमा हुनेछ।

यो खेलमा बार्सिलोनाका खेलाडी लियोनल मेस्सी खेल्ने छैन्। पिडुँलाको चोटका कारण मेस्सी टिमभन्दा बाहिर छुट्टै अभ्यास गरिरहेका छन्।

मेस्सी पुरै फिट नभएकोले आफुले कुनै जोखिम उठाउन नचाहेको बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले जानकारी दिए।

स्पेनिस लिग फुटबलमा पहिलो हप्ताका अन्य खेलहरुमा रियाल मड्रिडले सेल्टा भिगो तथा एथ्लेटिको मड्रिडको भिडन्त गेटाफेसँग शनिवार हुनेछ ।