ला लिगाको खेल तालिका सार्वजनिक, बार्सा र रियलले यी क्लब संग खेल्ने

बार्सिलोनाले कोरोना महामारीले रोकिएको स्पेनी ला लिगा फेरि सुरु हुँदाको पहिलो खेलमा रियल मालोर्काको सामना गर्ने भएको छ ।

लिग आयोजकले आइतबार लिगका दुई चरणको तालिका जारी गरेको छ । बार्सिलोनाले जुन १३ मा मालोर्काको भ्रमण गर्नेछ । त्यसको दुई दिनअगाडि रियल बेटिस र सेभियाबीचको खेलबाट लिग औपचारिक रूपमा फेरि सुरु हुनेछ ।

रियल म्याड्रिड शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा दुई अंकले पछाडि छ र उसले जुन १४ मा आइबरको सामना गर्नेछ । स्पेनमा मार्च १२ देखि फुटबल स्थगनको स्थितिमा छ ।

हालै मात्र स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले फुटबल फेरि सुरु गर्न सकिने अनुमति दिएका थिए ।

बार्सिलोनाले जुन १६ मा लेगानेसको आतिथ्य ग्रहण गर्नेछ भने रियलले जुन १८ मा घरमै भ्यालेन्सियाविरुद्ध खेल्नेछ ।