ललितपुरलाई ईपिएल टि-२० को उपाधि

भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रीएट्सले एभरेस्ट प्रिमियर लिग टि-२० को उपाधि जितेको छ। योसंगै ज्ञानेन्द्र मल्लले इतिहासमै पहिलो पटक आफ्नो कप्तानीमा फ़्रेञ्चाइज प्रतियोगिताको उपाधि दिलाएका छन्।

उपाधि सहित ललितपुरले २५ लाख रुपैयाँ प्राप्त गर्यो भने भैरहवाले १० लाख प्राप्त गर्यो। प्रतियोगिताको प्लेयर अफ द सिरिज भैरहवाका रभी इन्दर सिंह घोषित भए जसले टिभीएस बाइक प्राप्त गरे। उनले प्रतियोगिताकै सर्वाधिक रन बनाउने क्रममा ८ खेलमा ३३७ रन बनाए। यस्तै फाइनल खेलको प्लेयर अफ द म्याच ललित राजबंशी घोषित भए।

लगातार दोश्रो पटक भैरहवा ईपिएलको फाइनलमा पराजित हुन पुग्यो। भैरहवा गत बर्ष फाइनलमा बिराटनगर वारियर्ससंग १ रनले पराजित भएको थियो।