लन्डनमा आर्सनलका खेलाडीमाथि आक्रमण

आर्सनलका खेलाडी मेसुट ओजील र सीड कोलासीनाकमाथि आक्रमण भएको छ । गएराती लन्डनमा यी दुई फुटबल स्टारहरुमाथि लुटेराले आक्रमण गरेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।

ओजीलले गाडी चलाएर गइरहेका बेला उनीमाथि स्कुटरमा आएको ग्याङले आक्रमण गरेको थियो । चक्कुसहित हेलमेट लगाएर आएका उनीहरुले आक्रमण गर्न थालेपछि नजिकै रहेको रेस्टुरेन्टमा पुगेका थिए ।

ओजीलसँगै रहेका अर्का खेलाडी कोलासीनाकले भने लुटेरासँग केहीबेर प्रतिकार समेत गरेका थिए ।

ओजीलमाथि आक्रमण हुन थालेपछि नजिकै रहेको रेस्टुरेन्टका स्टाफ आएर उनीहरुको मद्धत गरेका थिए । यस घटनामा ओजीलर कोलासीनाकलाई कुनै चोट नलागेको बताइएको छ । त्यसपछि तुरुन्तै प्रहरी घटनास्थलमा पुगेको र आक्रमणकारीको खोजी गरेको बताइएको छ ।

दुवै खेलाडीले प्रहरीलाई घटनाबारे जानकारी गराएको बताइएको छ । त्यस्तै आर्सनलले समेत एक विज्ञप्ति निकाल्दै घटनामा दुवै खेलाडीलाई कुनै चोट नलागेको र उनीहरु क्लबको सम्पर्कमा रहेको बताएको छ ।