लगातार १५ वर्षसम्म बालोन डि’ओरका लागि मनोनित हुने एक्लो खेलाडी – क्रिस्टियानो रोनाल्डो

आफ्नो करिअरमा कूल ५ पटक विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर जितेका पोर्चुगलका कप्तानसमेत रहेका युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाममा नयाँ रेकर्ड बनेको छ । हाल इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डो अब सबैभन्दा धेरै बालोन डि‘ओर अवार्डका लागि मनोनित हुने खेलाडी बनेका छन् । त्यत्ति मात्रै हैन, उनी लगातार १५ वर्षसम्म सो अवार्डका लागि मनोनयनमा पर्ने एक्लो खेलाडीसमेत बनेका छन् ।

रोनाल्डो पहिलोेपटक सन् २००४ मा यो अवार्डका लागि मनोनयनमा परेका थिए । तर, उनी सन् २००७ पछि मात्रै टप–३ मा पर्न थालेका थिए । उनी पहिलोपटक सो वर्ष टप–३ मा परेका बेला ब्राजिलका काकाले सो अवार्ड जितेका थिए । त्यसबेला रोनाल्डो दोस्रो नम्बरमा हुँदा अर्जेन्टिना तथा बार्सिलोनाका लिओनल मेस्सी तेस्रो नम्बरमा थिए ।

बालोन डि‘ओरको इतिहासमा हालसम्म कोही खेलाडी लगातार १५ वर्षसम्म मनोनयनमा पर्न सफल भएको छ भने उनी रोनाल्डो नै हुन् ।

रोनाल्डोले हालसम्म यो अवार्ड ५ पटक जित्दा अर्जेन्टिनाका लिओनल मेस्सीले पनि ५ पटक नै जितेका छन् । रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका छन् । ५ पटक बालोन डि‘ओर जितेका मेस्सी हालसम्म कूल १३ पटक मात्रै बालोन डि‘ओरका लागि टप–३० मनोनित भएका छन् ।

सन् २०१८ का लागि दिइने यो अवार्ड आज फ्रान्सको पेरिसमा घोषणा गरिँदैछ । यसपटक यो अवार्डका लागि रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिक र युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई प्रमुख दाबेदार मानिएको छ ।