लगातार चार जितपछि सोलारी रियल मड्रिडको मुख्य प्रशिक्षकमा नियुक्त

अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । यसअघि कार्यवाहक प्रशिक्षकको भूमिकामा मात्रै रहेका अर्जेन्टिनी सोलारीलाई सोमबार रियलले मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका मुख्य प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेपछि रियलले सोलारीलाई अन्तरिम प्रशिक्षक तोकेको थियो । लोपेटेगुईको नेतृत्वमा लगातार ४ खेल हारेपछि रियलले उनलाई बर्खास्त गर्दै क्लबकै ‘बी’ टिमका प्रशिक्षक सोलारीलाई अन्तरिम प्रशिक्षक तोकेको थियो ।

सोलारीको नेतृत्वमा रियलले सुरुआती ४ खेलमा शतप्रतिशत जित निकालेपछि उनीमाथि क्लबले विश्वास गरेको हो । अघिल्लो राति ला लिगामा रियलले सेल्टा भिगोलाई २–४ ले हराएपछि रियलले सोलारीलाई मुख्य प्रशिक्षक बनाउने निर्णय लिएको स्पेनका मिडियाले जनाएका छन् ।

सोलारीको नेतृत्वमा रियलले पछिल्ला ४ खेलमा ला लिगामा मेलिल्लाविरुद्ध ०–४, भाल्लाडोलिडविरुद्ध २–०, च्याम्पियन्स लिगमा भिक्टोरिया प्लेजनविरुद्ध ०–५ र पछिल्लोपटक ला लिगामा सेल्टा भिगोविरुद्ध २–४ को नतिजा निकालेको थियो । रियलले पछिल्ला ४ खेलमध्ये ३ खेलमा क्लिन सिटी राख्दै १५ गोल गरेर आफूले २ गोल मात्रै खाएको छ ।