लगातार उत्कृष्ट बन्ने लक्ष्य सहित अगाडी बढ्दै मेसी

पछिल्लो एक दशकदेखि फुटबलमा राज गरिरहेका बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसी अझै पनि सफलताका लागि उत्तिकै भोको छन् ।

मेसीले आफ्नो मेडल्स संख्यालाई थप बढाउन चाहन्छन् र त्यसबारेमा उनले हालै कुरा समेत गरेका छन् । एउटा प्रमोशनल कार्यक्रममा सहभागी बनेका मेसीले भने, “मेरो मुख्य लक्ष्य अझै उत्कृष्ट हुनु र आफ्नो सफलताहरुबाट सन्तुष्ट भएर बस्नुबाट जोगिनु हो ।”

मेसीले अगाडी भनेका छन्, “म प्रत्येक दिन उत्कृष्ट हुन चाहन्छु र लक्ष्य पूरा गर्न चाहन्छु । साथै जति सक्छु त्यति उपाधि जित्न चाहन्छु । म आफैले आफैलाई बढी प्रतिस्पर्धी मान्छु । म सबैकुरा जित्न चाहन्छु र मलाई हार्नु मन पर्दैन ।”

बार्सिलोनाका लागि १० नम्बर जर्सी लगाएर खेल्ने मेसीले आफूमा आएको परिवर्तन र खेल्ने शैलीबारे पनि चर्चा गरेका छन् । मेसी भन्छन्, “म आफैलाई यस्तो खेलाडीका रुपमा देख्छु, जसले खेललाई नियन्त्रण गर्छ, जसले बलसँग बढी भन्दा बढी खेल्छ र जसले खेललाई चलायमान राख्छ । मैले आफैलाई गोलस्कोररको रुपमा देख्दिन ।”