नेपाली स्टार मिडफिल्डर रोहित चन्दले बुधबार पर्सिजा जकार्तासँगको सम्झौतामा दुई वर्षे विस्तार गरेका छन् । इन्डोनेसियाको राजधानी जकार्तामा उनले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
‘क्लबले तीन वर्षको प्रस्ताव गरेको थियो । अहिले दुई वर्षको सम्झौतामा हस्ताक्षर भयो । सम्झौता आज (२९ जनवरी २०२०) देखि लागू हुन्छ,’ रोहितका एजेन्ट मुस्टिकाले जकार्ताबाट भनिन्, ‘उनले राम्रो गर्नेमा विश्वस्त छु ।
’ पर्सिजालाई इन्डोनेसियाको शीर्ष श्रेणीको लिग वान २०१८ मा च्याम्पियन बनाउन रोहितको भूमिका महत्त्वपूर्ण थियो । त्यो सिजन उनी लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । तर, २०१९ को सिजन पर्सिजा दसौं स्थानमै सीमित रह्यो ।
२८ वर्षीय रोहित घुँडाको शल्यक्रियापछि पुनरागमन गर्दै सन् २०१७ मा पर्सिजा पुगेयता त्यही क्लबमा निरन्तर रहेका छन् । उनी २०१३–१४ मा पनि पर्सिजामै थिए । त्यसपछि मलेसियाको टी–टिममा आबद्ध भएलगत्तै उनले एसीएलको उपचार गराउनुपरेको थियो ।
२०६६–६७ को सिजन मछिन्द्रबाट करिअर सुरु गरेका उनी नौ वर्षयता विदेशी लिगमै व्यस्त छन् ।
करिअर थालेको दोस्रो सिजन आई लिग खेल्न भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटडमा अनुबन्धित भएका उनी २०१२ मा पीएसपीएस पेकनबरुमा आबद्ध हुदै इन्डोनेसिया पुगेका थिए ।