रोहित चन्दले पर्सिजा जकार्ताबाट अर्को सिजन नखेल्ने पक्का ; येस्तो छ कारण

रोहित चन्दले इन्डोनेसियाको पर्सिजा जकार्ताबाट अर्को सिजन नखेल्ने पक्का भएको छ । गत सिजन पर्सिजालाई लिग उपाधि दिलाउँदा लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित रोहितले क्लब छाड्ने भएका छन् ।

पर्सिजाका निर्देशक गेडे विडीआडेले रोहित र पर्सिजाबीच नयाँ सिजनको लागि सम्झौता नभएको इन्डोनेसियाको संचारमाध्यमलाई बताएका छन् । रोहितको गत सिजनको अन्त्यमा सम्झौता सकिएपछि नयाँ सम्झौताका लागि छलफल चलेको थियो । तर दुवै पक्ष आपसी समझदारीमा आउन नसकेपछि पर्सिजाले अर्को खेलाडी अनुबन्ध गरिसकेको छ ।

पर्सिजाले एसियाली कोटामा उज्बेकिस्तानका मिडफिल्डर जाहोन्गिर अब्दुमुमिनोभलाई भित्र्याएको छ । २५ वर्षीय मिडफिल्डरले पर्सिजासँग एक वर्षको सम्झौता गरेका छन् । इन्डोनेसिया लिगमा प्रत्यक टोलीले अधिकतम ४ विदेशी खेलाडी राख्न पाउनेमा १ खेलाडी एसियाली कोटामा रहने प्रावधान रहेको छ । जाहोन्गिरको अनुबन्धसँगै रोहितले पर्सिजा छाड्ने पक्का भएको हो ।

पर्सिजाका निर्देशक विडीआडेका अनुसार पर्सिजाले रोहितलाई अनुबन्ध गर्न चाहेपनि रोहितसँग सम्झौताका लागि अनुबन्धनको सर्त नमिल्दा क्लबले विकल्प रोजेको हो । रोहितले इन्डोनेसिया बाहिर नै लिग खेल्ने प्रबल सम्भावना रहेको छ ।