रोहित चन्दको रातो कार्डमा अस्ट्रेलियाका फ्यानहरूले गरे आफ्नै खेलाडीको आलोचना

फिफा विश्वकप-२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-०ले पराजित भएको थियो। गए राति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै हरायो भने उक्त खेल केही विवादास्पद नै रह्यो।

नेपालका स्टार डिफेन्डर रोहित चन्दले खेलको ४५औँ मिनेटमा रातो कार्ड पाएको थियो र रेफ्रीको उक्त निर्णय विवादास्पद रहेको थियो। अस्ट्रेलियाका मार्टिन बोयल बल अगाडी लाग्ने क्रममा रोहितको उनी माथि केही हल्का सम्पर्क रहेको थियो र रेफ्रीले उक्त घटना भए सँगै निर्णय लिएनन् र पछि लाइन म्यानको सल्लाहमा उनले रोहितलाई रातो कार्ड दिए।

रोहित चन्दको रातो कार्डमा नेपाली फ्यानहरू खुसी थिएनन् तर अस्ट्रेलियाका फ्यानहरू पनि आफ्नो खेलाडी मार्टिन बोयलबाट खुसी थिएनन् र फ्यानहरूले आफ्नो खेलाडीले डाइभ गरेको आरोप लगाए भने बोयलको सो व्यवहार लाजमर्दो रहेको बताए।

उक्त घटना पछि ट्विटर मा अस्ट्रेलियाका फ्यानहरूले आफ्नै खेलाडीको आलोचना गर्नमा लागे। धेरैले उनको सो डाइभ लाजमर्दो रहेको बताए भने रेफ्रीको निर्णय हास्यास्पद रहेको बताए। फिफा रैंकिंगमा आफू भन्दा धेरै तल रहेको नेपाल सँग पनि मार्टिन बोयलले डाइभ गरेको भनेर अस्ट्रेलियाका फ्यानहरूले उनको आलोचना गरे।

१० खेलाडीमा सीमित भए पनि अस्ट्रेलियालाई मात्र ३ गोल गर्न दिएको भनेर धेरै अस्ट्रेलियानहरूले नेपाली खेलाडीहरूको प्रशंसा पनि गरे।

अपराजित रहेको अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ । नेपाल भने ८ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रहेको छ ।