रोमाले दियो बार्सिलोनालाई ठुलो झटका

घरेलु मैदानमा शानदार पुनरागमन गरेपछि इटालियन क्लब रोमा युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । अन्तिम आठअन्तर्गत दोस्रो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ३–० ले हराउँदै उसले अन्तिम चारको टिकट पक्का गरेको हो ।
आफ्नो घरमा भएको अघिल्लो लेगमा बार्सिलोनाले ४–१ ले जितेको निकालेको थियो । तर, दोस्रो लेगमा रोमाले ३–० को जित निकाल्दै समग्रमा ४–४ को बराबरीपछि अवे गोलका आधारमा बार्सिलोनालाई पछि पार्दै ऊ अन्तिम चारमा पुगेको हो ।
यो पराजयपछि बार्सिलोनाको जारी सिजनमा ट्रिबेल उपाधि जित्ने सपना चकनाचुर भएको छ । ऊ लगातार दोस्रो वर्ष प्रतियोगिताको अन्तिम आठबाटै बाहिरिएको हो । गतवर्ष पनि बार्सिलोना अन्तिम आठमा इटालियन युभेन्टसको सिकार भएको थियो, जहाँ समग्रमा ३–० को हारसहित बार्सिलोना प्रतियोगिताबाट बिदा भएको थियो ।
रोमाको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा बार्सिलोना सुरबाटै दबाबमा परेको थियो । जहाँ रोमाले पहिलो हाफमा १–० को अग्रता लियो भने दोस्रो हाफमा २ गोल थप्दै सनसनीपूर्ण कमब्याक जित निकाल्यो ।
रोमाका लागि खेल सुरु भएको छैटौं मिनेटमै इडेन डेज्कोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा लगातार हाबी भएको उसले पाहुना टोली बार्सिलोनालाई खुलेरे खेल्नै दिएन । पहिलो हाफमा पनि रोमाले अन्य थुप्रै गोलका अवसार बनाएको थियो । तर, ऊ त्यसमा चुक्दा पहिलो हाफमा उसले १–० को अग्रता बनायो ।
दोस्रो हाफमा खेलमा फर्किन संघर्षरत बार्सिलोनामाथि रोमा झन् हाबी भयो । उसले पटक–पटक बार्सिलोनाको पोस्टमा आक्रमण गरेर खेल नियन्त्रणमा लिने प्रयास गरिरह्यो । सोक्रममा बार्सिलोनाका खेलाडी मैदानमा वेमेलपूर्ण अवस्थामा देखिन्थे । उनीहरूलाई रोमाको आक्रमण पन्छाउनै हम्मे परेको देखिन्थ्यो ।
सोहीक्रममा रोमाले खेलको ५८औं मिनेटमा पेनाल्टी पायो । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले जानाजान रोमाका खेलाडीलाई डि–एरियामा तानेर लडाएपछि रेफ्रीले रोमालाई पेनाल्टी अवसर दिए ।
जहाँ ड्यानिले रोजीले कुनै गल्ती नगरी गोल गरे । र, अग्रता २–० बनाए । त्यसपछि बार्सिलोना खेलमा थप दबाबमा आयो । सोहीक्रममा खेल सकिन ८ मिनेट बाँकी छँदा रोमाले कर्नर किक पायो । जहाँ कर्नर किमा कास्तोस मानोलसले आकर्षक लो–हेडिङ गोल गरेपछि बार्सिलोना स्तब्ध भयो ।
त्यसपछि खेलमा बार्सिलोनाले गोल फर्काउन सकेन । र, रोमाले दोस्रो लेगमा ३–० को शानदार जित निकाल्यो । उक्त जितपछि रोमाले एग्रीगेटमा ४–४ भए पनि अवे गोलका आधारमा उपाधि दाबेदार टिम बार्सिलोनालाई पन्छाउँदै अन्तिम चारमा स्थान बनायो ।