रोमाञ्चक खेलमा लिभरपुलको कठिन जित

लिभरपुलले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ ले पराजित गरेको छ ।

प्रिमियर लिगमा १६ वर्षपछि पुनरागमन गरेको लिड्सका लागि सुरुवात भने राम्रो हुन सकेन । तेस्रो मिनेटमा नै लिभरपुलका मोहमद सलाहको प्रहार डिफेन्डर रोबिन कक्को हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले सहजै पेनाल्टीमा गोल गर्दै च्याम्पियन लिभरपुललाई अघि बढाए ।

गत वर्ष च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्यायो । काल्भिन फिलिप्सको लामो पासलाई ज्याक ह्यारिसनले पहिलो टचमा उत्कृष्ट नियन्त्रण गर्दै डिफेन्डर बिट गरे । दोस्रो टचमा पेनाल्टी क्षेत्रतर्फ बल बढाएका उनले तेस्रो टचमा गरेको प्रहार गोलरक्षक एलिसन बेकरले बचाउन सकेनन् ।

लिभरपुलले २० औं मिनेटमा नै अग्रता पुन: स्थापना गर्यो । एन्ड्रयु रोबर्टसनको कर्नरमा भर्जिल भान डाइकको शक्तिशाली हेडर गोलरक्षक इयान मेइलरले बचाउन सकेनन् । तर ३० औं मिनेटमा भान डाइककै गल्तीमा लिड्स खेलमा फर्कियो । डच डिफेन्डरले लामो पासलाई क्लियर गर्न नसक्दा बामफर्डले उक्त बललाई पोस्टको दिशा दिए । बामफर्डको प्रहार गोलरक्षक एलिसनको हातमा लागेपनि उनले स्कोर बराबर हुनबाट रोक्न सकेनन् ।

बराबरी भएको तीन मिनेट नबित्दै लिभरपुलले पुन: अग्रता लियो । मोहमद सलाहले फ्रिकिकमा रिबाउन्ड आएको बललाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा उत्कृष्ट नियन्त्रण गर्दै हाफ भलीमा सुन्दर गोल गरे । गोलरक्षक मेइलरले सलाहको टप कर्नरतर्फ गएको प्रहारमा हात पुर्याउन सकेनन् ।

पहिलो हाफमा १ गोलले पछि परेको लिड्सले दोस्रो हाफमा आफ्नो शैली कायम नै राख्यो । लिभरपुलले पनि आक्रामक रणनीतिलाई निरन्तरता दिएपनि पाएको अवसर सदुपयोग गर्न सकेन । जवाफमा ६६ औं मिनेटमा खेल पुन: बराबरीमा पुग्यो । हेल्डर कोस्टाको क्रसलाई म्याटुएज क्लिकले गोलमा परिणत गरे । क्लिकले पहिलो टचमा नियन्त्रण गर्दै प्रहार गरेको भलीलाई एलिसनले बचाउन सकेनन् ।

खेलको ८७ औं मिनेटमा लिभरपुलले चौथोपटक अग्रता लिने अवसर पायो । लिड्सका रोड्रीगो मोरेनोले फाबिन्होलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले ह्याट्रिक पूरा गर्ने क्रममा पेनाल्टीमा गोल गर्दै जित पक्का गरे ।