रोनाल्डो र मेस्सीको ‘दबदबा’ तोड्दै मोड्रिकले जिते अवार्ड

रियल मिड्रड तथा क्रोएसियाको राष्ट्रिय टोलीका कप्तान लुका मोड्रिकले सिजन २०१७÷१८ का लागि ‘गोल ५०’ अवार्ड जितेका छन् । यसपटकका लागि मनोनयनमा परेका ५० जना उत्कृष्ट खेलाडीको सूचीमा टप–३ मा युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र लिभरपुल तथा इजिप्टका मोहमद सालाहलाई पछि पार्दै मोड्रिकले यो अवार्ड जितेका हुन् |

‘गोल ५०’ अवार्ड प्रतिष्ठित खेल मिडिया ‘गोल’ ले दिन्छ । उसले सन् २००८ बाट यो अवार्ड दिन थालेकोमा ११औं संस्करणको उपाधि मोड्रिकले जितेका हुन् । टप–३ मा रोनाल्डोसँगै लिभरपुल तथा इजिप्टका मोहमद सालाह परेका थिए । बार्सिलोना तथा अर्जेन्टिनाका मेस्सी भने यसपटक सो अवार्डका लागि पाचौं स्थानमा मात्रै परे । मेस्सीभन्दा अघि फ्रान्स तथा पिएसजीका युवा खेलाडी केलियन एमबाप्पे परेका छन् ।

सिजन २०१७÷१८ मा रियल मड्रिडलाई लगातार तीनपटक तथा समग्रमा १३औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन तथा रसिया विश्वकपमा क्रोएसियालाई फाइनलसम्म लैजान महत्त्वपूर्ण भूमिका खेलेका मोड्रिकलाई यो अवार्ड दिइएको हो । रसिया विश्वकपमा उनी प्रतियोगिताकै उतकृष्ट खेलाडी पनि घोषित भएका थिए ।

मोड्रिकले यसअघि मेस्सी र रोनाल्डोको लामो समयको दबदबा तोड्दै युरोपको सर्वश्रेष्ठ खेलाडी तथा फिफा वर्ष खेलाडीको उपाधिसमेत जितेका थिए ।