रोनाल्डो र मेसी दुवैले यो वर्षको बलोन डि’ओर नजित्ने पक्का

इटालीका अधिकांश पत्रपत्रिकाहरुले युभेन्टसका स्टार स्ट्राइकर रोनाल्डो र बार्सिलोनाका चर्चित फरवार्ड मेसी दुवैजनाले यसपटकको बलोन डि’ओर नजित्ने दाबी गरेका छन् । गजेटा डेलो स्पोर्ट, कोरिएरे डेलो स्पोर्ट र ला स्टाम्पा तिमध्येका अग्रणी पत्रिका हुन् जसले रोनाल्डो र मेसी दुवैले यसपटकको बलोन डि’ओर नपाउने बताएका छन् ।

यि तीन पत्रिकामध्ये कोरिएरेले रोनाल्डो र मेसीले नपाउनुको आधारसमेत उल्लेख गरेको छ । डिसेम्बर ३ तारिखमा हुने भनिएको बलोन डि’ओर वितरण समारोहको प्रोमोसन भिडियोलाई उसले आधार बनाएको छ । एल’इक्विप्पीले पोस्ट गरेको सो भिडियो रोनाल्डोले गत वर्ष बलोन डि’ओर जितेको फोटोबाट सुरु हुन्छ । तर, सधैंझैं त्यो भिडियो रोनाल्डो वा मेसीलाई केन्द्रमा राख्दैन ।

गत वर्षका विजेताको फोटोपछि किलियन एमबाप्पे, राफाएल भराने र लुका मोड्रिचको फोटो आउँछ । सामान्यतय, प्रोमोसनल भिडियोमा अवार्डका मुख्य दाबेदारलाई देखाइन्छ । विगत एक दशकयता हरेक अवार्ड जित्ने दाबेदारीको केन्द्रमा मेसी र रोनाल्डो हुने गर्थे ।

तर, फ्रान्स फुटबलले प्रदान गर्ने फुटबलको सर्वाधिक प्रतिष्ठित अवार्ड बलोन डि’ओरले मेसी र रोनाल्डोलाई आफ्नो प्रोमोसनमा नसमेट्नुलाई उनीहरु दुवैजना बलोन डि’ओरको शिर्ष तीनमा नपरेको कोरिएरेलगायतका स्रोतले दाबी गरेका छन् ।

भरानेले यो वर्ष विश्वकप र च्याम्पियन्स लिग दुवै जितेका छन् । यदि उनले बलोन डि’ओर जितेमा फाबियो कानाभारोले सन् २००६ मा जितेपछि बलोन डि’ओर जित्ने पहिलो डिफेन्डर बन्ने छन् । किलियन एमबाप्पेले पिएसजीलाई लिग वान र विश्वकप जिताउन उल्लेखनिय योगदान गरेका थिए भने लुका मोड्रिचले रियललाई च्याम्पियन्स लिग जिताउन र क्रोएसियालाई विश्वकपको फाइनलसम्म पु¥याउन महत्वपूर्ण योगदान दिएका थिए ।

यदि यसपटक अरु कसैले बलोन डि’ओर जितेमा मेसी वा रोनाल्डोबाहेक सो अवार्ड जित्ने एक दशकयताका पहिलो खेलाडी बन्ने छन् । पछिल्ला १० वर्षका बलोन डि’ओर अवार्ड मेसी र रोनाल्डो र समान ५ पटक जितेका छन् ।