‘रोनाल्डो र नेयमार होइन ला लिगाको लोकप्रियताका लागि मेस्सी आवश्यक’

ला लिगाका अध्यक्ष जाभियर टेबासले ला लिगाका लागि क्रिस्टियानो रोनाल्डो र नेयमारभन्दा लियोनल मेस्सी आवश्यक रहेको बताएका छन् । स्पेनिस मिडिया मार्कासँगको कुराकानीमा टेबासले ला लिगाको लोकप्रियताको लागि रोनाल्डो र नेयमारभन्दा मेस्सी आवश्यक रहेको बताएका हुन् ।

यस्तै उनले पीएसजीबाट स्पेन फर्कन लागेका ब्राजिलियन स्टार नेयमारको विषयमा बोल्दै नेयमार ला लिगामा फर्कने बताए ।

आफूले पनि नेयमार स्पेन फर्किएको हेर्न चाहेको बताउँदै उनले भने, ‘पक्कै पनि म नेयमार स्पेन फर्किएको हेर्न चाहान्छु । उनको क्षमताको आधारमा भन्नुपर्दा नेयमार विश्वका उत्कृष्ट खेलाडीमध्ये तेस्रा हुन् । ला लिगाका लागि उनी फेरि स्पेन फर्किन आवश्यक छ ।’

‘हामी २० क्लब भएर एक वर्षमा १० महिना खेल्छौं’ उनले थपे, ‘एक–अर्कासँग खेल्दै हामी निकै आनन्द उठाउँछौ । स्पेनमा मात्र नभएर विश्वभरिकै फुटबल समर्थकलाई आनन्द दिन्छौं । नेयमार जस्ता एक खेलाडीलाई हरेक राष्ट्रले चाहेको हुन्छ । तर, ला लिगाका लागि उनी त्यति धेरै आवश्यक छैनन्, रोनाल्डो पनि आवश्यक थिएनन् । तर, मेस्सी ला लिगाका लागि धेरै महत्त्वपूर्ण छन्, किनकी उनी ला लिगाको बिरासत हुन् ।’

ला लिगामा यस सिजन २ स्टार भित्रिएका छन् । इंग्लिस प्रिमियर लिग खेलिरहेका चेल्सीका स्टार इडेन हाजार्ड र पोर्चुगिज क्लब बेन्फिकाका स्टार जाओ फेलिक्स यसै सिजन ला लिगामा भित्रिएका हुन् । हाजार्ड रियल मड्रिडबाट खेल्न थालेका छन् भने फेलिक्स एथ्लेटिको मड्रिडबाट खेलिरहेका छन् ।

यस्तै बार्सिलोनाले भने एथ्लेटिको मड्रिडका स्टार एन्टोइन ग्रिजम्यान र डच क्लब आयाक्सका स्टार फ्रेन्की डी योङलाई क्लबमा भित्र्याएको छ । अझै ऊ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार पनि क्लबमा भित्र्याउन चाहान्छ । ऊ मात्र नभएर रियल मड्रिड पनि नेयमार भित्र्याउने दाउमा छ ।

तर, टेबासले भने दुवै क्लबसँग नेयमार किन्न सक्ने क्षमता भएका कारण यस विषयमा केही कुरा नगर्ने बताए । उनले भने, ‘रियल र बार्सा दुवै क्लबले नेयमार भित्र्याउने इच्छा जताएका छन् । किनकी, उनीहरूसँग नेयमार किन्न सक्ने क्षमता छ । म यो विषयमा प्रवेश गर्न चाहान्न किनभने यहाँ केही कुरा थाहा नहुनुका पनि धेरै कारण छन् ।’