रोनाल्डो र ग्रीजम्यान बालोन डि’ओर अवार्ड सभामा नजाने पक्का

सन् २०१८ का लागि दिइने विश्वकै प्रतिष्ठित अवार्ड बालोन डि‘ओर अवार्ड आज फ्रान्सको पेरिसमा दिइँदैछ । यसपटक यो अवार्डका लागि रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिकलाई प्रमुख दाबेदार मानिएको छ ।

मोड्रिकले गत वर्ष रियललाई लगातार तेस्रोपटक च्याम्पियन्स लिगको अवार्ड जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसबाहेक उनले रसिया विश्वकपमा क्रोएसियालाई फाइनलसम्म लैजान पनि महत्त्वपर्ण भूमिका खेलेका थिए ।

यही दुई आधारमा मोड्रिकलाई यस अवार्डका लागि प्रमुख दाबेदार मानिएको हो । मोड्रिकले यसअघि पनि युभेन्टस तथा पोर्चुगलका रोनाल्डोलाई नै पछि पार्दै युरोपको सर्वश्रेष्ठ खेलाडीको अवार्ड तथा फिफा वर्ष खेलाडीको अवार्ड पनि जितिसकेका छन् ।

आज पेरिसमा हुने बालोन डि‘ओर अवार्डको टप–३ मा मोड्रिकसँगै रोनाल्डो र एथ्लेटिको मड्रिड तथा फ्रान्सका एन्टोनी ग्रीजम्यान परेको सूची लिक भएको भन्दै इटाली तथा फ्रान्सका मिडियाले खबर छापेका छन् ।

उनीहरूले यो दाबी गरेका छन् कि, रोनाल्डो यसपटक अवार्ड समारोहमा जाँदै छैनन् । उनले आफूले अवार्ड नजित्ने भएपछि अवार्ड समारोहमा नजाने पक्का भएको अघिल्लै दिन इटालियन मिडियाले खबर छापिसकेका छन् ।

त्यसैगरी, टप–३ मा परेका भएिका ग्रीजम्यान पनि अवार्ड समारोहमा उपस्थित नहुने स्पेनिस मिडियाले खबर छापेका छन् । आफ्नै देशमा हुने अवार्ड समारोहमा ग्रीजम्यान सहभागी नहुने पक्का भएको खबर फ्रेन्च मिडियाले पनि छापेका छन् ।

मिडियामा आएका खबरअनुसार टप–३ मा मोड्रिक, रोनाल्डो र ग्रीजम्यान नै परेको अवस्थामा उनीहरू दुवैजना यो अवार्ड सभामा नजाने भएपछि अवार्ड समारोहमा मोड्रिक एक्लै हुने सम्भावना छ । यो खबर बनाउँदासम्म अवार्ड सभामा रोनाल्डो र ग्रीजम्यान दुवैजना सहभगी हुँदै छैनन् ।